एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजको खुलेर प्रशंसा गरेका छन्। बार्सिलोनाको सामना गर्नु अगाडी आयोजित पत्रकार सम्मेलनका क्रममा एन्सेलोटीले जाभीको प्रशंसा गरेका हुन्।
पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा एन्सेलोटीले जाभी बार्सिलोनाको टीममा राम्रोसँग घुलमिल भएको र त्यसले टोलीलाई सुधारेको बताए। उनका अनुसार जाभीले बार्सिलोनामा धेरै राम्रो काम गरिरहेका छन्।
पत्रकार सम्मेलनका क्रममा उनले बार्सिलोनाको पहिचान कहिल्यै परिवर्तन नहुने बताउन पनि छुटाएनन्। उनले बार्सिलोना शैली स्पष्ट रहेको एन्सेलोटीको बुझाई छ।
“बार्सिलोनाको पहिचान कहिल्यै परिवर्तन हुँदैन, किनकि क्लबको शैली स्पष्ट छ। जाभी त्यो शैलीसँग राम्रोसँग अन्तरघुलित भएका छन्। उनको नेतृत्वमा टोलीले धेरै सुधार गरेको छ। उनीहरू पूर्ण टोली हुन् र राम्रो खेलिरहेका छन्। मलाई लाग्छ उनले धेरै राम्रो काम गरिरहेका छन्।”,एन्सेलोटीले भने।
सिजनको तेस्रो तथा अन्तिम एकक्लासिकोमा बार्सिलोना र रियल म्याड्रिड आइतबार राति आमने-सामने हुँदैछन्। आइतबारको एकक्लासिको रियलको घरेलु मैदानमा हुनेछ। यस सिजनका पछिल्ला दुई खेलमा रियल विजयी भएको थियो। रियलसँग पछिल्लो पटक पराजित भएयता बार्सिलोना धेरै सुधार गरेको छ। आइतबार राति हुने खेलमा बार्सिलोना यस अगाडी बेहोरेका हारको बदला लिने दाउमा मैदानमा उत्रनेछ।

