पोचेटिनो भन्छन् – ‘रियलसँग हारेपछि राम्रोसँग निन्द्रा पनि लाग्न सकिरहेको छैन’

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक माउरिसियो पोचेटिनोले च्याम्पियन्स लिगमा रियल म्याड्रिडसँग पराजय अकल्पनीय झड्का भएको बताएका छन्। पिएसजीको आधिकारिक मिडियासँग कुराकानी गर्नेक्रममा पोचेटिनोले रियलसँगको हार आफूहरुका लागि अकल्पनीय झड्का भएको बताएका हुन्।

एएस मोनाको विरुद्धको खेल अगाडी पोचेटिनोले च्याम्पियन्स लिगबाट आउट हुनुको पिडा वर्षभरी नै रहने बताए। रियल म्याड्रिड विरुद्धको हारलाई भुल्न धेरै समय लाग्ने पोचेटिनोको भनाई छ। सो हार पश्चात निदाउन पनि नसकिरहेको संकेत पोचेटिनोले गरे। त्यसक्रममा सामान्य निद्रा र सामान्य अवस्थामा फिर्ता हुन समय लाग्ने बताउन पनि पोचेटिनोले छुटाएनन्।

“रियल म्याड्रिडसँगको हार एक अकल्पनीय झड्का थियो। सामान्य निद्रा र सामान्य अवस्थामा फर्किन समय लाग्नेछ। च्याम्पियन्स लिगमा जे भयो त्यो भुल्न त यो वर्ष सकिँदैन होला। तर जे भएपनि हामीले अगाडी बढ्नुपर्नेछ।”,पोचेटिनोले भने।

सिजन राम्रोसँग समाप्त गर्नेमा आफू केन्द्रित भएको पनि पोचेटिनोले बताए। सिजनका बाँकी सबै खेल जित्ने योजना सहित आफूहरु अगाडी बढेको पोचेटिनोको भनाई छ। उनले भने,”म सिजन राम्रोसँग समाप्त गर्ने सोचिरहेको छु। सिजनका बाँकी सबै खेल जित्ने हाम्रो योजना छ। के हुन्छ हेर्दै जाउँ। हामीले यो पनि हेर्नु पर्छ कि क्लब के गर्न चाहन्छ।”

पहिला च्याम्पियन्स लिगको दाबेदार मानिएको पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ। अन्तिम १६ को पहिलो लेगमा जित निकालेपनि पिएसजी दोस्रो लेगमा रियलसँग पराजित भएको थियो। दोस्रो लेगमा करिम बेन्जेमाले ह्याट्रिक गरेका थिए।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१०:१५

एन्जेल डी मारिया बार्सिलोना जाने चर्चा ! के छ सम्भावना ?