एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आइतबार एस मोनाकोको सामना गर्दैछ। मोनाकोको घरेलु मैदानमा पिएसजीले आइतबार मोनाकोको सामना गर्न लागेको हो।
पिएसजी फ्रेन्च लिग वानको शिर्ष स्थानमा छ भने मोनाको आठौँ स्थानमा छ। च्याम्पियन्स लिगबाट बाहिरिएपछि सिजनका सबै खेल जित्ने योजना सहित अगाडी बढिरहेको पिएसजीका लागि मोनाको विरुद्धको खेल महत्वपूर्ण हुनेछ। तर सो खेलमा लियोनेल मेस्सी भने उपलब्ध हुने छैनन्।
मोनाको विरुद्धको खेलमा मेस्सी नखेल्ने पिएसजीले आधिकारिक रुपमै स्पष्ट पारेको छ। पिएसजीका अनुसार मेस्सीको स्वास्थ्यमा समस्या देखिएको छ।
मेस्सीलाई फ्लू देखिएको बताइएको छ। फ्लू देखिएपछि उनी ४८ घण्टाका लागि पिएसजीको मेडिकल टीमसँग रहनेछन्।
फ्रेन्च लिगका २८ खेल मध्ये मेस्सीले १८ खेल खेलेका छन्। जसमा उनले मात्रै दुई गोल गरेका छन्। तर असिस्टको मामलामा भने मेस्सी धेरै अगाडी देखिएका छन्। जारी सिजनमा उनले ११ असिस्ट दिसकेका छन्।
मेस्सीका आलावा अन्य चार खेलाडी पनि मोनाको विरुद्धको खेलका लागि उपलब्ध हुने छैनन्। पिएसजीका लागि मात्रै ५ खेल खेलेका सर्जियो रामोस पनि मोनाको विरुद्धको खेलका लागि उपलब्ध हुने छैनन्। रामोस इन्टरनेसनल ब्रेक पछि मात्र पिएसजीको स्क्वाडमा फिर्ता हुने सम्भावना रहेको छ। रामोसले पिएसजीको टोलीसँग प्रशिक्षण थालिसकेका छन्।
यस्तै मोनाको विरुद्ध एन्जेल डि मारिया, एन्डर हेरेरा, जुआन बर्नाट र लेभिन कुर्जावा पनि हुने छैनन्। यी सबै खेलाडी गरेर पाँच खेलाडी उपलब्ध नहुने पिएसजीले आधिकारिक रुपमा नै स्पष्ट पारेको छ।

