एजेन्सी – गएको केहि समय देखि बोरुसिया डर्टमन्डका नर्वेली युवा स्टार एर्लिङ हालाण्ड म्यानचेस्टर सिटी जाने चर्चा चलिरहेको छ। विभिन्न संचार माध्यमहरुले हालाण्ड भित्र्याउने दौडमा सिटी अगाडी देखिएको दावी गरिरहेका छन्।
हालाण्ड भित्र्याउन सिटीले अहिले देखि नै तयारी शुरु गरिसकेको बताइन्छ। सिटीका अधिकारीहरुले हालाण्डका र उनका एजेन्टलाई भेटिसकेको खबर आएका छन्। सिटीको तर्फबाट भएका प्रस्तावहरुमा हालाण्ड सकारात्मक भएको जर्मन तथा बेलायती मिडियाहरु बताउँछन्।
शुक्रबार मात्रै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई सो बारे प्रश्न गरियो। त्यसक्रममा उनले ट्रान्सफर विन्डो अगाडी नै खेलाडी भित्र्याउने विषयमा चर्चा गर्न अस्विकार गरे। उनले हालाण्डको ट्रान्सफरको विषयमा कुराकानी गर्न अस्विकार गरे। अन्य क्लबमा रहेका खेलाडी बारे सोचेर बस्ने व्यक्ति आफू नरहेको उनले बताए। सिटीले एक पछि अर्को खेलाडी भित्र्याउँदै छ भनेर अनावश्यक हल्ला हुने गरेको ग्वार्डिओलाको भनाई छ।
“जब देखि म यहाँ छु, हरेक महिना वा दुई महिनामा मानिसहरू भनिरहेका छन् कि हामी ५० खेलाडी भित्र्याउन गइरहेका छौँ। तर हामी सँग नभएका खेलाडीको कुरा गर्नु राम्रो होइन। हालाण्ड डर्टमन्डका खेलाडी हुन् र हाम्रो अगाडि अविश्वसनीय दौड छ। सिजनको अन्त्यमा ट्रान्सफर विन्डो छ। जे हुन्छ त्यहाँ नै हुन्छ। यो क्लबलाई स्ट्राइकर चाहिन्छ-चाहिँदैन त्यहि बेला भनौला।”,ग्वार्डिओलाले भने।

