एजेन्सी – रियल म्याड्रिडका पूर्व लेफ्ट ब्याक सर्जियो रेगुइलोन बार्सिलोना जान तयार भएका छन्। विभिन्न संचार माध्यमहरुले गरेको दावी अनुसार हाल टोटेनह्याम हटस्परमा रहेका रेगुइलोन बार्सिलोना जान तयार भएका हुन्।
रेगुइलोनले हाल टोटेनह्यामको टोलीमा नियमित मौका पाउन सकिरहेका छैनन्। पहिला क्लबको शुरुवाती ११ मा नियमित पर्दै आएपनि प्रशिक्षकको रुपमा एन्टोनियो कोन्टेको आगमन पछि रेगुइलोनको भूमिका सिमित भएको छ।
नियमित मौका नपाउँदा उनी क्लब छाड्ने निर्णयमा पुगेका छन्। उनी आउने समर ट्रान्सफरमा क्लब छाड्न चाहन्छन्। उनले क्लब छाड्न चाहेको बारे आफ्ना एजेन्टलाई पनि जानकारी गरिसकेका छन्। आफ्ना एजेन्टलाई उनले बार्सिलोना जाने चाहना व्यक्त गरेको बताइन्छ।
जेरार्ड रोमेरोका अनुसार रेगुइलोनका एजेन्टले बार्सिलोनालाई आफ्ना ग्राहकको चाहनाको बारेमा जानकारी दिएका छन्। रेगुइलोनको विषयमा कुरा अगाडी बढाउन बार्सिलोनाबाट पनि सकारात्मक संकेत मिलेको स्पेनिस मिडियाहरु बताउँछन्।
उता बार्सिलोनाले पनि आफ्नो अनुभवी लेफ्ट ब्याक जोर्डी अल्बाको लागि दीर्घकालीन विकल्प खोजिरहेको छ। अल्बाको करियरको अन्तिम समयमा छन्। उमेर ढल्किँदै जाँदा अल्बा करियरको अन्त्यतिर छन्। जसकारण बार्सिलोनाले उनको ठाउँमा कसलाई ल्याउन सकिन्छ भनेर अध्ययन गरिरहेको छ। यस्तोमा स्पेनकै खेलाडी बार्सिलोना आउन इच्छुक हुनु उसको लागि सकारात्मक कुरा हो।
रियलको युवा टोलीबाट सिनियर टोलीमा स्थान बनाएका रेगुइलोनले सन् २०१८-१९ को सिजनमा सिनियर टोलीमा डेब्यू गरेका थिए। टोटनह्यामले उनले सन् २०२० मा ३० मिलियन पाउण्ड खर्च गरेर भित्र्याएको थियो। टोटनह्याम पुगेयता एकरुपता र रक्षात्मक स्थिरताको कमीको लागि आलोचना खेपिरहेका छन्।

