एक अर्काको मुख पनि हेर्न चाहँदैनन् ओली र माधव, व्यक्तिगत तहमै घोचपेच शुरु !

काठमाडौँ – करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट आठ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत रूपमै आरोपप्रत्यारोप चल्दै आएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

पार्टी विभाजन यता दुई नेताबीच अहिलेसम्मै आरोपप्रत्यारोप चल्दै आएको हो। यो क्रम अझै चल्ने सम्भावना बढेर गएको छ। शनिबार यी दुई नेताले फरकफरक कार्यक्रममा एकले अर्कोलाई घोचपेच गर्ने, आरोप–प्रत्यारोप गर्ने क्रमलाई निरन्तरता दिए।

एमाले अध्यक्ष ओली काठमाडौँमा नेपालप्रति आक्रामक बनिरहँदा माधव नेपाल भने गोरखा पुगेर ओलीमाथि खनिएका थिए। नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई ओलीले संसद्बाट हुबहु अनुमोदन गराउन खोजेको तर आफूहरूले त्यसलाई व्याख्यात्मक टिप्पणीसहित सच्याएको दाबी गरेका थिए।

तर त्यही बेला ओलीले भने माधव नेपालले एमालेलाई दागी बनाउन खोज्दा आफूहरूले जोगाएको दाबी गरेका थिए। हरेक सार्वजनिक कार्यक्रममा यी दुई नेता आफूलाई केन्द्रमा राख्दै आरोपप्रत्यरोपमा उत्रिने गरेका छन्। एमालेका अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष नेपाललाई सार्वजनिक रूपमा व्यक्तिगत गाली गर्दै आएका छन्।

नेपालले पनि व्यक्तिगत गालीकै रूपमा जवाफ फर्काउने गरेका छन्। एमाले अध्यक्ष ओलीले शनिबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै २० वर्षअघि भएको राजदबार हत्याकाण्डमा दीपेन्द्रलाई हत्यारा साबित गर्न बनेको छानबिन समितिमा बसेर नेता नेपालले एमालेलाई बिटुल्याउन खोजेको आरोप लगाए।

ओलीले नेपालप्रति लक्षित गर्दै सो छानबिन समितिमा नेपाल बस्न रहर गरेको तर आफूहरूले विरोध गरेको बताए। आफूहरूको विरोधकै कारण नेपाल पछि हटेको ओलीको भनाइ थियो। उनले नेता नेपालकै कारण एमाले बिग्रन लागेको तर आफूहरूले बिग्रन नदिएको अभिव्यक्ति दिए। ओलीको निष्कर्ष माधव नेपालकै कारण पार्टी बिग्रेको भन्ने छ।

‘अनेक नाटक गरिएको थियो। कसैले त्यसबेला प्रश्नसमेत उठाउन नसकेको अवस्था थियो,’ ओलीले भने, ‘दरबार हत्याकाण्ड र मदन–आश्रित हत्याकाण्डका रहस्यहरू रहस्यकै गर्तमा रहे। राजदबार हत्याकाण्डको छानबिनका नाममा गरिने नाटकमा एमालेलाई पनि साक्षी राख्ने प्रयास भएको थियो तर त्यसलाई रोकेर माधव नेपालको रहर पूरा हुन दिइएन।’

प्रकाशित : आइतबार, चैत ०६, २०७८०७:४८

नयाँ वर्षमा काठमाडौँ छाड्दै पूर्वराजा ज्ञानेन्द्र ! कहाँ जान लागे ?