काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको जितलाई गठबन्धनले रोक्न नसक्ने दाबी गरेका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
उनले भने– ‘हाम्राविरुद्ध गठबन्धन बनाइएको छ । मनोवैज्ञानिक त्रास कतै साथीहरूमा छ भने छाडिदिए हुन्छ, यो गठबन्धन केही पनि होइन । स्यालहरूले मोर्चा कसेर हात्तीको शिकार गर्न सक्दैनन् ।’
कार्यक्रममा अध्यक्ष ओलीले वृद्ध भत्ताको व्यवस्था एमालेले गरेको जिकिर गर्दै ज्येष्ठ नागरिकको हिसाबले देउवाले सूर्यमा भोट हाल्नुपर्ने तर्क गर्दै भने– ‘शेरबहादुर देउवा आफैं कांग्रेसमा किन छन्भन्दा बुढा भएर पनि हो । उहाँलाई ४ हजार भत्ता के गर्नु, छँदैछ, नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे ।’
प्रधानमन्त्री देउवालाई व्यंग्य गर्दै उनले भने – ‘म भन्न चाहन्छु, कमसेकम ज्येष्ठ नागरिक हो । तपाईं पनि सूर्य चिह्नमा अरूले देख्ने गरी भोट हाल्नुहोस् ।’

