काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावबाट माओवादी देशको पहिलो पार्टी बन्ने दावी गरेका छन्। आइतबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्नेक्रममा प्रचण्डले आगनी चुनावबाट माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहेको बताएका हुन्।
पोखरामा आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहेको मात्र बताएनन्, माओवादीको पक्षमा देशभर माहोल बनिरहेको पनि दावी गरे।
प्रचण्ड आइतबार पार्टीको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुने पोखरा पुगेका हुन्। त्यसक्रममा उनले ६४ सालमा जस्तै जनताले माओवादीलाई एक पटक पुनः मौका दिने बताए।
“हामी ६४ मा शान्ति सम्झौता गरेर आउँदा पनि कसैले पनि माओवादीले चुनाव जित्छ भन्न सकेको स्थिति थिएन । ठूला भनेका राजनीतिक दलले त ५ सिट आउँछ होला माओवादीको भन्थे।”,प्रचण्डले स्मरण गरे।
६४ साल मा माओवादीको पक्षमा माहोल बनेजस्तै अहिले पनि त्यस्तै संकेत मिलेको प्रचण्डले बताए। देशभर माओवादीप्रति उभार देखिएको भन्दै उनले अरू पार्टी आफूहरूसित चुनावी तालमेल गर्न आउनुपर्ने धारणा राखे ।
उनले भने,”अरू सबै पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ । हामी जाने होइन । किनभने, यो देशको परिवर्तनको वाहक हामी हो। अहिले कार्यक्रममा जो उभार हामीले देखेका छौं, त्यो उभार हेर्दा अब मानिसहरूले फेरि एकचोटी माओवादीलाई जिताउनुपर्छ भन्न थालेका छन्।”