उमेर बढ्दै जाँदा आँखाको ज्योति कम हुँदै जान्छ भन्ने विश्वास गरिन्छ। यति मात्र होइन, ५० वर्ष पुगेपछि सामान्यतया मोतियाबिन्दु जस्ता आँखाका धेरै रोग लाग्ने खतरा पनि बढ्छ। स्वास्थ्य विज्ञहरूका अनुसार सानैदेखि स्वस्थ जीवनशैली र पौष्टिक आहार खाने बानी बसाल्ने हो भने बुढेसकालसम्म आँखाको ज्योतिलाई राम्रो बनाउन मद्दत पुग्न सक्छ। आहारको समस्याले आँखाको स्वास्थ्यमा बढी असर पार्ने भएकाले सबै मानिसले आफ्नो नियमित आहारमा जिङ्क, कपर, भिटामिन सी, भिटामिन ई र बिटा क्यारोटिनयुक्त खानेकुरा समावेश गर्नुपर्छ भन्ने आँखा रोग विशेषज्ञहरू विश्वास गर्छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार आँखा सम्बन्धि सबै प्रकारका रोगको जोखिमबाट बच्न र लामो समयसम्म आँखाको ज्योति राम्रो बनाउन पौष्टिक वस्तुको सेवनमा ध्यान दिनुपर्छ। अमेरिकन अप्टोमेट्रिक एसोसिएसन (AOA) र अमेरिकन एकेडेमी अफ ओप्थाल्मोलोजी (AAO) जस्ता संस्थाहरूले आँखाको स्वास्थ्यको लागि पोषण सेवनको सिफारिस गर्छन्। निम्न यस्ता केही चिजको बारेमा जानौं, जसको सेवनले आँखाको स्वास्थ्यको ख्याल राख्न सकिन्छ।
माछा खानु फाइदाजनक

आहारमा विभिन्न प्रकारका माछाहरू समावेश गर्नाले आँखालाई स्वस्थ राख्न र लामो समयसम्म राम्रो रोशनी कायम राख्न विशेष गरी फाइदाजनक हुन्छ। माछा ओमेगा-३ फ्याटी एसिडको धनी स्रोतका रूपमा चिनिन्छ। माछाको छाला र पेटमा तेल हुन्छ जसले शरीरमा आवश्यक ओमेगा–३ आपूर्ति गर्न मद्दत गर्छ। केही अध्ययनहरूले फेला पारेका छन् कि माछाको तेलले सुख्खा आँखालाई राहत दिन्छ।
सिट्रस फलफूल र हरियो पत्तेदार तरकारी

सिट्रस फलफूलमा भिटामिन-सी प्रचुर मात्रामा पाइन्छ र हरियो पातदार तरकारीमा एन्टिअक्सिडेन्ट र मिनरल्स प्रचुर मात्रामा पाइन्छ। आँखाको स्वास्थ्यका लागि भिटामिन–ई भएको चिज पनि बढी सेवन गर्नुपर्छ। यसबाहेक, भिटामिन-सी उमेरसँग सम्बन्धित आँखाको क्षतिलाई रोक्नको लागि प्रभावकारी मानिन्छ। हरियो सागसब्जीमा लुटेन र जेक्सान्थिन जस्ता एन्टिअक्सिडेन्टहरू पाइन्छ, जुन आँखाको उत्कृष्ट स्वास्थ्य कायम राख्न निकै उपयोगी मानिन्छ। यसको सेवनले आँखाका धेरै प्रकारका रोग लाग्ने खतरा कम हुन्छ।
गाजर

गाजरलाई आँखाका लागि सबैभन्दा फाइदाजनक खानेकुरा मानिन्छ। गाजरमा भिटामिन ए र बीटा क्यारोटिन दुबै प्रशस्त मात्रामा पाइन्छ। बीटा क्यारोटिनले गाजरलाई सुन्तला रङ्ग दिन्छ। भिटामिन ए ले आँखाको ज्योति राम्रो बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्छ। यो रोडोपसिन नामक प्रोटिनको एक भाग हो, जसले रेटिनालाई प्रकाश अवशोषित गर्न मद्दत गर्छ। आहारको माध्यमबाट भिटामिन ए युक्त चीजहरू थपेर आँखा सम्बन्धि रोगहरूबाट बच्न सकिन्छ।

