रियलको घरेलु मैदानमा बार्सिलोनाको ताण्डव !

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई सहजै पराजित गरेको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा बार्सिलोनाले ४-० को फराकिलो जित दर्ता गरेको हो ।

बार्सिलोनाको जितमा पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १-१ गोल गरे । पहिलो हाफमा २-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेको थियो ।

खेलको सुरुवातमा दुवै टोलीले आक्रमणमा अवसर बुनेपनि बार्सिलोनाले अग्रता लिएपछि भने रियलले निकै फितलो प्रदर्शन गरेको थियो । रियलको फराकिलो हारमा पनि गोलरक्षक थिबाउट कोर्टुवाको व्यक्तिगत प्रदर्शन भने राम्रो रह्यो । उनले बार्सिलोनाको सुन्दर प्रहार विफल पारेका थिए ।

बार्सिलोनाले खेलको २९ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । ओस्मान डेम्बेलेको क्रसमा औबामेयाङले हेडरमार्फत गोल गर्दै क्याटलान टोलीलाई अघि बढाएका थिए ।

पहिलो गोलको ८ मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर पार्यो । डेम्बेलेको क्रसमा नै अराउजोले हेडरमार्फत गोल गर्दै २-० को अग्रता दिलाएका थिए । रियलले मुख्य फरवार्डबिना खेलेको खेलमा निकै संघर्ष गर्नुपरेको थियो ।

दोस्रो हाफको लागि रियलले दुई खेलाडी परिवर्तन गरेपनि गोलको सिलसिला रोक्न सकेन । दोस्रो हाफको दोस्रो मिनेटमा नै टोरेसले ३ गोलले अघि बढाए । फ्रेन्की डे जोङको पासमा औबामेयाङले दिएको थ्रु बललाई टोरेसले उत्कृष्ट फिनिस गरेका थिए ।

त्यसको ४ मिनेट नबित्दै बार्सिलोनाले विवादका बीच ४-० को अग्रता लियो । सहायक रेफ्रीले झन्डा उठाएपछि रियलका डिफेन्डर मुकदर्शक बन्दा औबामेयाङले टोरेसको पासमा सहजै गोल गरे । रेफ्रीले सुरुवातमा सहायक रेफ्रीकै निर्णयमा अफसाइड दिएपनि भीएआरले गोलको मान्यता दिएको थियो ।

यस जितसँगै बार्सिलोनाले रियल सँगको अंक दुरीलाई १२ अंकमा झारेको छ । बार्सिलोना २८ खेलमा ५४ अंकसहित तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २९ खेलमा ६६ अंक छ । दोस्रो स्थानको सेभिल्लाको २९ खेलमा ५७ अंक छ ।

प्रकाशित : सोमबार, चैत ०७, २०७८०९:११

लुकाकु चेल्सीबाट आउट ?