बार्सिलोनाको खेल देखेर स्वयम् जाभी पनि परे छक्क !

जाभी हर्नान्डेजले एस्टाडियो सान्टियागो बर्नाबेउमा रियल म्याड्रिड विरुद्ध आफ्नो बार्सिलोनाले यति सहज रूपमा जित्ने आशा नगरेको स्वीकार गरेका छन्। बार्सिलोनाले पिएरे-इमरिक औबामेयाङको दुई दुई तथा रोनाल्ड अराउजो र फेरान टोरेसको एक एक गोलको मद्दतमा ४–० को जित निकाल्यो।

“हामीले यी नतिजाहरूका लागि कडा मेहनत गरेका छौं। तर हामीले उनीहरूको स्टेडियममा यति उत्कृष्ट हुने अपेक्षा गरेका थिएनौं,” जाभीले खेलपछिको अन्तर्वार्तामा भने, “हामीले अझ खुला खेलको अपेक्षा गरेका थियौं। म धेरै खुसी छु।”

गयराती बार्सिलोनाको रियल म्याड्रिड माथिको उत्कृष्ट जितेको तरिकाले पछिल्लो पटक ब्लाउग्रानाले बर्नाबेउमा रियल म्याड्रिडलाई हराएको बारे धेरैले सम्झन बाध्य भएका छन्, २००९ मा पेप ग्वार्डीओलाको टोलीले हासिल गरेको ६-२ को जित – र जाभी पनि यी दुई नतिजा समान छन् भन्ने विश्वासमा छन्।

“यो तुलना गर्न सकिन्छ। गोल र हाम्रो खेलको हिसाबले हामी धेरै उत्कृष्ट थियौं। हामी धेरै खुसी छौं,” उनले भने। यो जितले क्लबमा ल्याएको उत्साहको बावजुद, जाभी आफ्ना बार्सिलोनाका खेलाडीहरूलाई आकाशमा नउड्न आग्रह गरेका छन्। “हामीले काम गरिरहनुपर्छ। यो ट्रफी होइन। हामी नम्र हुनुपर्छ,” जाभीले भने, “हामी आज उत्सव मनाउनेछौं र त्यसपछि हामीले आराम गर्नुपर्छ र सेभिल्लाको बारेमा सोच्नु पर्छ। यो थप तीन अंक हो।”

“मलाई लाग्दैन कि यसले हामीलाई ला लिगा जित्न पर्याप्त दिन्छ, यो धेरै गाह्रो छ। तर आज हामले लिग लिडरको मुखमा मुक्का हान्न सफल भयौं। “पहिले हामीले च्याम्पियन्स लिगमा छनोट हुने स्थानमा रहनमा ध्यान केन्द्रित गर्नेछौं र त्यसपछि हेरौं। यस जितले परियोजनालाई बलियो बनाउँछ। हामीले हाम्रो उद्देश्यहरू अझै हासिल गर्न सकेका छैनौं। हामीले जारी राख्नैपर्छ,” उनले भने।

प्रकाशित : सोमबार, चैत ०७, २०७८११:३३

बार्सिलोना आकाशमा नउडे भयो, रियल अझै ९ अंकले अगाडी छ !