काठमाडौँ- नेपाली बजारमा हप्ताको दोस्रो दिन सुनको भाउमा वृद्धि आएको छ। हप्ताको पहिलो दिन आइतबार शुक्रबारको तुलनामा ६ सयले घटेको सुनको भाउ आज भने उकालो लागको छ। सोमबार नेपाली बजारमा सुनको भाउमा प्रतितोला ३ सय रुपैयाँले वृद्धि आएको हो।
सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९९ हजार ५०० पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार छ । उक्त सुन आइतबार प्रतितोला रु ९८ हजार ७०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३७५ कायम रहेको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२६ डलर आसपासमा कारोबार भइरहेको छ ।