काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भिकारीको संज्ञा दिएका छन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा गुरूङले प्रचण्डलाई भिकारीसँग तुलना गरेका हुन्।
पूर्वसभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा माइतीघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा गुरूङले प्रचण्डले कहिले कचौरा लिएर बालकोट त कहिले बालुवाटार पुग्ने भन्दै कटाक्ष गरे। प्रचण्डलाई देख्दा बिचरा भन्न मन लाग्ने गुरूङको भनाई छ।
त्यसक्रममा गुरुङले प्रचण्डलाई गिरिजाप्रसाद कोइरालाले जोखिमले माओवादीलाई जगलबाट डोहोर्याएर शान्तिपूर्ण बाटोमा ल्याएको बताउन पनि छुटाएनन्।
“गिरिजाबाबुले जुन जोखिमले माओवादीलाई जंगलबाट शान्तिपूर्ण बाटोमा डोहोर्याएर लिएर आउनु भयो अहिले अध्यक्ष प्रचण्ड कचौरा लिएर कहिले बालकोट त कहिले बूढानीलकण्ठ पुगेर आफ्नो अस्तित्वको भिख माग्ने गरेका छन्।”,गुरुङले भने,”गिरिजाले आफू हारेपनि देश हार्न हुन्न भन्थे, उता सँगै हस्ताक्षर गर्ने प्रचण्डचाहिँ आफू हार्न हुन्न देश हारे हारोस भन्छन् । तपाईं लाई हेरेर बिचरा भन्न मनलाग्यो।”
केहि दिन अगाडी पनि गुरुङले माओवादीका नेताहरुलाई लक्षित गरेर कडा अभिव्यक्ति दिएका थिए। गुरुङले ‘चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन्’ भन्ने अभ्विव्यक्ति दिएपछि प्रचण्डले सार्वजनिक रुपमै सो बारे असन्तुष्टि व्यक्त गरिसकेका छन्।