प्रमाण सहित पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १४ वर्ष जेल सजाय माग !

नाबालिका जबर्जस्ति करणी गरेको आरोपमा विगत केही समयदेखि हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको माग गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा मंगलबार जबरजस्ती करणीको आरोपमा मुद्दा दर्ता गराएको हो।

घटनाको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम भएको कारणले गर्दा सहमति मै घटना भएपनि पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको माग गर्दै मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिएका छन्।

त्यस्तै, मतियारको भूमिका खेलेको भन्दै अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशीमाथि पनि पलको भन्दा आधा सजायको माग गर्दै मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आज जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय तनहुँका अनुसार दोषी पलमाथि जबर्जस्ति करणीको कसुर स्थापित हुने यथेष्ट आधार र प्रमाण पेश गरिएको छ। साक्षीको बयान, वारदातस्थलमा रहेको पुष्टि हुने प्रमाण, अभियुक्त र आरोपीबीचको संवादको कल डिटेल्स जस्ता चीजलाई प्रमाणका रूपमा प्रस्तुत गरिएको छ।

नेपालको मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै शारीरिक सम्पर्क बनाए पनि त्यसलाई जबरजस्ती करणी मानिनेछ। १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था रहेको छ।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१४:४२

पल प्रकरणमा पीडितको बयान: “कोठामा आए, तलको कपडा खोल्दिए, वीर्य स्खलन गराए अनि गए”