बार्सिलोनाले भेट्टायो डेम्बेलेको स्थान लिने खेलाडी, यति ठूलो रकम तिर्न भयो तयार !

एजेन्सी – फ्रान्सेली विङ्गर ओस्मान डेम्बेले बार्सिलोनामा रहने-नरहने केहि टुंगो छैन। आउने समरमा सम्झौता सकिँदै गरेका उनले अहिले सम्म सम्झौता थप गरेका छैनन्। बार्सिलोनाले सम्झौता थप गर्न प्रयास गरेपनि डेम्बेलेले खासै मानिरहेका छैनन्।

डेम्बेलेले नयाँ सम्झौताका लागि अहिले पाइरहेको भन्दा पनि बढी पारिश्रमिक माग गरिरहेका छन्। तर डेम्बेलेले माग गरेजति पारिश्रमिक दिन भने बार्सिलोना तयार छैन। जसकारण डेम्बेले र बार्सिलोना बीच सम्झौता थपको कुराकानी अगाडी बढ्न सकिरहेको छैन।

डेम्बेलेले आउने समरमा क्लब छाड्न सक्ने सम्भावना उच्च रहेको छ। यो कुरा बुझेसँगै बार्सिलोनाका अधिकारीहरु उनको ठाउँमा कसलाई ल्याउन सकिन्छ भने अध्ययन गरिरहेका छन्।

बार्सिलोनाका अधिकारीहरुको नजर ब्राजिलियन विङ्गर राफिनामा परेको स्पेनिस मिडियाहरु बताउँछन्। हाल प्रिमियर लिग क्लब लिड्स युनाइटेडमा रहेका उनले डेम्बेलेको स्थानमा राम्रो गर्न सक्ने बार्सिलोनाका अधिकारीहरुको आशा रहेको बताइन्छ।

यसबीचमा बार्सिलोनाका अधिकारीहरुले राफिनाका एजेन्टलाई भेटेको खबर समेत आएका छन्। उनका एजेन्टलाई भेटेर बार्सिलोनाका अधिकारीहरुले ३५ मिलियन युरोको प्रस्ताव राखेको स्पेनिस मिडियाहरुको दावी छ। राफिनालाई पाँच वर्षका लागि अनुबन्ध गर्ने बार्सिलोनाको चाहना छ।

राफिना भित्र्याउने दौडमा बार्सिलोना एक्लै भने छैन। उनलाई प्रिमियर लिगका क्लबहरुले पनि भित्र्याउन चाहेका छन्। उनलाई आर्सनल, लिभरपुल र चेल्सी जस्ता क्लबहरुले भित्र्याउन चाहेका छन्।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१५:४६

बार्सिलोना फर्किने मेस्सीको चाहना, पारिश्रमिक घटाउन समेत भए तयार !