एजेन्सी – रियल म्याड्रिडमा लुका जोभिक बेन्चमा बस्दा-बस्दा वाक्क दिक्क भएका छन्। सन् २०१९ ठूला-ठूला सपना बोकेर रियल म्याड्रिड आएका उनी रियलमा कम मौका पाउँदा दिक्क भएका हुन्।
जोभिकले लालिगाको जारी सिजनमा एक पटक पनि रियलको शुरुवाती ११ मा परेका छैनन्। लालिगामा उनले यस सिजन खेलेका १३ वटै खेलमा उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।
वैकल्पिक खेलाडीको रुपमा बेन्चमै सिमित हुनु पर्दा जोभिक रियल छाड्ने निर्णयमा पुगेको स्पेनिस मिडियाहरु बताउँछन्। जोभिकले आउने ट्रान्सफर विन्डोमा क्लब छाड्न चाहेको बताइन्छ।
गत जनवरी ट्रान्सफर विन्डोमै केहि क्लबहरुले जोभिकमा चासो देखाएका थिए। त्यसबेला जोभिकलाई किन्न आर्सनल र एभर्टनले प्रयास गरेका थिए। एसी मिलानले पनि जोभिकको विषयमा चासो व्यक्त गरेको थियो। तर कुनै पनि क्लब रियल म्याड्रिडसँग सहमतिमा भने पुग्न सकेनन्।
बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डले पनि अहिले जोभिकको अवस्थालाई नजिकबाट नियालिरहेको छ। आउने समर ट्रान्सफरमा युवा स्टार एर्लिङ हालाण्डले क्लब छाड्ने हुँदा उनको ठाउँ लिन सक्ने खेलाडी डर्टमन्डलाई चाहिएको छ। हुन त डर्टमन्डको प्राथमिकतामा आरबी साल्जबर्गका करिम अडेमी छन्। तर उनलाई भित्र्याउन नसकेको खण्डमा जोभिकलाई भित्र्याउन डर्टमन्ड बाध्य हुन सक्छ।
रियलले जोभिकलाई सन् २०१९ मा ६० मिलियन युरो खर्च गरेर भित्र्याएको थियो। रियलमा उनको सम्झौता सन् २०१९ सम्मका लागि छ। जोभिकले क्लब छाड्ने मन बनाइसकेको अवस्थामा रियलले किन्ने क्लबको खोजि गर्नुपर्ने छ।

