एजेन्सी – फ्रान्सेली प्रकाशन ले इक्विपले पेरिस सेन्ट जर्मेन(पिएसजी)का खेलाडीहरुको अनुमानित पारिश्रमिक सार्वजनिक गरेको छ। पिएसजी निकट विभिन्न श्रोतहरुबाट प्राप्त जानकारीका आधारमा ले इक्विपले पिएसजीका खेलाडीहरुको अनुमानित पारिश्रमिक सार्वजनिक गरेको हो।
ले इक्विपका अनुसार पिएसजीमा सबै भन्दा बढी पारिश्रमिक नेयमारले पाउँदै आएका छन्। सन् २०१७ मा कीर्तिमानी २ सय २२ मिलियन युरोमा पिएसजी आएका उनले हरेक महिना ४ मिलियन युरो रकम घर लैजाने गरेको ले इक्विपले जनाएको छ।
त्यस्तै नेयमारपछि लियोनेल मेस्सीले पिएसजीमा बढी पारिश्रमिक पाउने गरेका छन्। मेस्सी यसै सिजन फ्री ट्रान्सफरमा पिएसजी पुगेका हुन् र उनले हरेक महिना ३ दश्मलभ ४ मिलियन युरो पारिश्रमिक बुझ्दै आएका छन्।
सबै भन्दा बढी पारिश्रमिक पाउने पिएसजी खेलाडीको सूचीमा किलियन एम्बाप्पे तेस्रो स्थानमा रहेका छन्। उनले हरेक महिना २ दशमलभ २ मिलियन युरो पारिश्रमिक पाउँछन्।
क्लबमा कतारी लगानी भित्रिएयता पिएसजीका खेलाडीहरुले उच्च पारिश्रमिक पाउँदै आएका छन्। पिएसजीका धेरै जस्तो खेलाडीहरु विश्वकै उच्च पारिश्रमिक पाउने खेलाडीहरुमा पर्छन्।
लामो समय देखि पिएसजीमा रहेका मार्क्विनहोस र मार्को भेराट्टीले प्रति महिना १ दशमलभ २ मिलियन युरो पारिश्रमिक पाउँछन्। त्यस्तै यसै सिजन पिएसजी पुगेका सर्जियो रामोसले समेत मासिक ७ लाख ९२ हजार युरो पारिश्रमिक पाउँछन्। लिआन्ड्रो परेडेस र जुआन बर्नाटको पारिश्रमिक रामोस भन्दा कम छ। परेडेसले ७ लाख ५० हजार र बर्नाटले ७ लाख ३० हजार युरो पारिश्रमिक घर लैजान्छन्।

