बार्सिलोनाले चम्किरहेका यी खेलाडीलाई सित्तैमा उछिट्याउने !

एजेन्सी – एसी मिलानका मिडफिल्डर फ्रान्क केसीलाई क्याटलान क्लब बार्सिलोनाले उछिट्याउने भएको छ। यहि सिजनको अन्त्यमा सम्झौता सकिँदै गरेका केसीलाई बार्सिलोनाले सित्तैमा उछिट्याउने भएको हो।

आइभरी कोस्टको राष्ट्रिय टोलीका सदस्य समेत रहेका केसीको मिलानमा यहि सिजनको अन्त्य सम्मका लागि मात्रै सम्झौता छ। केसीले मिलानमा बस्न चाहेका छैनन्। क्लब र उनी बीच सम्झौता थप गर्ने बारे कुनै पनि सहमति हुन सकिरहेको छैन।

यसैबीच केसीले बार्सिलोनासँग अग्रिम सहमति गरिसकेको विभिन्न संचार माध्यमहरुले जनाएका छन्। स्काई स्पोर्ट्सले गरेको दावी अनुसार केसी आउने सिजन बार्सिलोना जान सहमत भइसकेका छन्। बार्सिलोनाले हालसालै स्विजरल्याण्डमा केसीको मेडिकल परीक्षण समेत गराएको स्काई स्पोर्ट्सले जनाएको छ।

एसी मिलानले प्रस्ताव गरेको भन्दा २ मिलियन युरो बढी पारिश्रमिक दिन बार्सिलोना तयार रहेको छ। खबरका अनुसार केसीको सम्झौता ४ वर्षका लागि हुनेछ। उनले प्रत्येक वर्ष ७ मिलियन युरो पारिश्रमिक पाउनेछन्।

यस विषयमा दुई पक्ष बीच मौखिक सहमति भइसकेको छ। आउने केहि दिन भित्रै बार्सिलोना र केसी बीच अग्रिम सम्झौता हुन सक्ने सम्भावना समेत रहेको रहेको छ।

केसी जारी सिजनमा एसी मिलानका लागि धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। सबै प्रतियोगितामा उनले मिलानका लागि ३० खेल खेलेका छन्। जसमा उनले ६ गोल गरेका छन् भने १ असिस्ट दिएका छन्।

प्रकाशित : बुधबार, चैत ०९, २०७८०७:४६

जिरुडले लिने भए बेन्जेमाको स्थान !