एजेन्सी – इटालियन क्लब एसी मिलानका फरवार्ड ओलिभर जिरुड फ्रान्सको राष्ट्रिय टोलीमा समेटिएका छन् । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले आगामी मैत्रीपूर्ण खेलका लागि ३५ वर्षीय जिरुडलाई टोलीमा समेटेका हुन् ।
प्रशिक्षक डेसच्याम्पले रियल म्याड्रिडका स्टार करिम बेन्जेमाको स्थानमा जिरुडलाई टोलीमा डाकेका हुन् । पिँडौलामा आएको समस्याका कारण बेन्जेमाले बार्सिलोनाविरुद्धको ‘एल क्लासिको’ समेत गुमाएका थिए । उक्त खेलमा रियलले ४–० को लज्जास्पद हार बेहोरेको थियो ।
जिरुडले फ्रान्सका लागि ११० खेल खेल्दा ४६ गोल गरेका छन् । उनी फ्रान्सका लागि सर्वाधिक धेरै गोल गर्ने दोस्रो खेलाडी हुन्, जो थिएरी हेनरीभन्दा मात्र पाँच गोलले पछि छ ।
सन् २०१८ को विश्वकप विजेता जिरुडले युरो कप २०२० पछि राष्ट्रिय टिमका लागि खेल्न पाएका थिएनन् । फ्रान्सले २५ मार्चमा आइभोरी कोस्ट र २९ मार्चमा दक्षिण अफ्रिकासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तलिका छ ।

