काठमाडौँ – ननक्कली सेना बनेर ठगी गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नेपाली सेनाको क्याप्टेन बनेर ठगी गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० अम्मरसिंह चोक बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ घर भएका ३८ वर्षीय अर्जुन कटुवाल भन्ने धन बहादुर परियार रहेका छन्।
पक्राउ परेका उनले आफूलाई नेपाली सेनाको क्याप्टेन बताउने गरेका थिए भने उनले नेपाली सेनाको नक्कली परिचय पत्र समेत देखाउने गरेका थिए। सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लप्टन र सिपाही पदमा जागिर लगाइदिने भन्दै उनले कयौंलाई ठगेको खुलेको छ।
सामाजिक संजाल फेसबुकमार्फत सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लप्टन र सिपाही पदमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन जनासँग ९ लाख ७५ हजार १ सय ४० रूपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उनको साथबाट पाली सेनाको नक्कली परिचय पत्र, सेनाको सहसेनानी पदको दर्ज्यानी चिन्ह र चेस्ट लगाएको नेपाली सेनाले प्रयोग गर्ने चुस्ता एक सेट, हरियो ज्याकेट, बेल्ट, दापसहितको खुकुरी, तुमलेट, सेनाको लोगो भएको गेमड्रेस र ट्रयाकसुट बरामद गरिएको छ।
साथै विभिन्न व्यक्तिहरूको नामको उपसेनानी पदको उम्मेदवारहरूको फाराम, सिपाही पदको परिचयपत्र, खाली परिचयपत्रहरू र बा८४प ६९८८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ। ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइसकिएको छ।

