युरो च्याम्पियन र कोपा च्याम्पियन बीचको खेल वेम्बलीमा हुने पक्का, कहिले हुनेछ खेल ?

एजेन्सी – युरोपेली च्याम्पियनसिप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच ‘फाइनलिसिमा’ उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफए र दक्षिण अमेरिकी कन्मेबलबीच डिसेम्बर २०२१ मा भएको सम्झौता अनुसार खेल हुने भएको हो ।

खेल लन्डनको वेम्बली रंगशालामा १ जुन २०२२ मा हुने तालिका रहेको छ । खेल स्थानीय समयअनुसार साँझ ७:४५ बजे हुनेछ । युइएफएले मंगलबार एक विज्ञप्तिमार्फत खेल हुने सार्वजनिक गरेको हो । खेलको निर्धारित ९० मिनेट बराबरी भए सिधै टाइब्रेकरमार्फत खेलको निर्णय लिइनेछ । फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउने जमर्को गर्दै २९ वर्षपछि पुन: खेल गर्न लागिएको जनाइएको छ ।

सन् १९९३ मा भएको खेलमा अर्जेन्टिनाले डेनमार्कलाई पराजित गरेको थियो । त्यसबेला डिएगो म्याराडोना सम्मिलित टोलीले डेनमार्कलाई पेनाल्टीमा पराजित गरेको थियो । त्यसअघि सन् १९८५ मा भने फ्रान्सले उरुग्वेलाई पराजित गरेको थियो ।

इटालीले सन् २०२१ जुनमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो । इटालीले टाइब्रेकरमा ३-२ को जित हासिल गरेको थियो । लगत्तै जुलाई २०२१ मा अर्जेन्टिनाले साविक विजेता ब्राजिललाई हराएको थियो । अर्जेन्टिनाले १-० ले फाइनल जित्दा कप्तान लिओनेल मेस्सीले पहिलो अधिकारिक अन्तर्राष्ट्रिय उपाधि जितेका थिए ।

प्रकाशित : बुधबार, चैत ०९, २०७८१४:३४

अप्रिल महिनामा यी २ राशिमा रहनेछ माता लक्ष्मीको विशेष कृपा, जता ततैबाट हुनेछ धन लाभ !