काठमाडौँ – भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स)मा बिजुलीको मूल्य अकासिएसँगै नेपालले भारतबाट महँगोमा बिजुली आयात गरेर स्वदेशी माग थेग्ने कि लोडसेडिङ गर्ने भन्ने दुईवटा विकल्प देखिएका छन्। नेपाल विद्युत् प्राधिकरणले अहिले दैनिक ४ सयदेखि ६ सय मेगावाट बिजुली भारतबाट आयात गरेर स्वदेशी माग धान्दै आएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
भारतीय बजारमा पछिल्लो समय ऊर्जाको अत्यधिक माग बढेसँगै नेपालले भारतबाट आयात गर्ने बिजुलीको भाउ पनि अत्यधिक मात्रामा बढेको छ। नेपालले विगतमा प्रतियुनिट भारु ६ रूपैयाँ ११ पैसा खरिद गर्ने बिजुलीको बजार मूल्य अहिले भारु २० रूपैयाँभन्दा माथि पुगेको छ।
अर्काेतर्फ भारतमा बिजुलीको उत्पादन घटिरहँदा माग तीव्र गतिमा बढिरहेको देखिन्छ। नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स) बाट दैनिक बिडिङ (बोलकबोल) बाट बिजुली खरिद गर्छ। प्राधिकरणले महँगोमा बिजुली आयात गर्न नसक्ने हो भने नेपालमा लोडसेडिङ गर्नुको विकल्प छैन।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले मंगलबार प्राधिकरणले इनर्जी एक्सचेन्ज गरेको बिडिङ नपरेकाले एक दिन बिजुली नआएको बताउँछन्। ‘प्राधिकरणले मंगलबार गरेको बिडिङ परेन। भारतीय बजारमा बिजुलीको भाउ अचाक्ली बढेकाले बिडिङ नपरेको हो,’ उनले भने, ‘प्राधिकरणले बुधबार १२ रूपैयाँ भारुमा ९० वटा ब्लकमा बिडिङ प्रस्ताव गरेको छ। सम्भतः बिडिङ स्वीकृत होला कि!’
प्राधिकरणले मंगलबार भारतीय बजारमा प्रतियुनिट भारु ८ रूपैयाँमा बिजुली खरिद गर्न बिड गरेको थियो। तर भाउ अत्यधिक बढेकाले नेपालले बिड गरेअनुसारको बिजुली प्राप्त गर्न सकेन। पिक आवरमा प्रतियुनिट भारु १२ को बिडिङ प्रस्ताव समेत स्वीकृति भएन। नेपालले भारतीय बजारमा बढी मूल्यमा गरेको बिड समेत अस्वीकृत हुन थालेको छ।
भारतमा बिजुली पनि सेयरबजारमा जस्तै खरिदबिक्री हुन्छ। प्रत्येक १५–१५ मिनेटमा बजार भाउ फरक हुने गर्छ। भारतीय ऊर्जा बजारमा ९६ वटा ब्लकमा बिजुलीको बजार मूल्य तोकिएको हुन्छ। प्राधिकरणले भारतबाट भारु ६ रूपैयाँ १८ पैसा, ६ रूपैयाँ ६८ पैसा, ७ रूपैयाँ र ८ रूपैयाँका दरले बिजुली खरिद गर्दै आइरहेको थियो। अहिले प्राधिकरणले भारु १२ रूपैयाँमा समेत बिजुली खरिद गर्न पाइरहेको छैन। पिक आवरमा अधिकतम प्रतियुनिट भारु २० भन्दा धेरै पर्न थालेको छ।
प्रवक्ता भट्टराईले भारतमा पिक आवरमा प्रतियुनिट बिजुलीको बजारमूल्य भारु २० रूपैयाँभन्दा धेरै भएकाले महँगोमा आयात गरेर सरदर नेपाली ९ रूपैयाँमा बेच्न कठिन हुने बताउँछन्। ‘भारु २० रूपैयाँमा खरिद गरेको बिजुली अन्य शुल्क जोड्दा करिब ३५ रूपैयाँ पर्न आउँछ,’ उनले भने, ‘३५ रूपैयाँ किनेर हामीले सरदर ९ रूपैयाँमा बेच्नुपर्ने हुन्छ। राज्यले यस्तो गर्न सक्छ कि सक्दैन भन्ने कुरा छ।’

