यी ३ कुराको सधैं राख्नुहोस् ख्याल, ७० % सम्म कम हुनेछ छाला क्यान्सरको जोखिम !

क्यान्सर संसारमा सबैभन्दा घातक रोगहरु मध्ये एक हो। पछिल्लो एक वा दुई दशकमा विभिन्न कारणले विश्वव्यापी रूपमा क्यान्सर रोगीहरूको संख्यामा तीव्र वृद्धि भएको छ। क्यान्सर धेरै प्रकारको हुन सक्छ, छालाको क्यान्सर पनि ती मध्ये एक हो। छालाको क्यान्सर संगठनको एक रिपोर्ट अनुसार अमेरिकामा ७० वर्षको उमेरमा हरेक पाँच जनामध्ये एक जना यस गम्भीर समस्याको सिकार हुन्छन्। त्यति मात्र होइन, यु.एस. मा छालाको क्यान्सरका कारण प्रत्येक घण्टामा २ जनाभन्दा बढीको ज्यान जाने रिपोर्ट रहेको छ। यस्तै नेपालमा पनि छालाको क्यान्सरका बिरामीको संख्या बढ्न थालेको छ। स्वास्थ्य विज्ञहरुका अनुसार समयमै यस समस्याको पहिचान गरी उपचार गर्न सके बिरामीको बाँच्ने सम्भावना धेरै गुना बढ्छ।

मेलानोमा छालाको क्यान्सरको एक रूप हो जुन कोशिकाहरू (मेलानोसाइट्स) मा सुरु हुन्छ जसले तपाईंको छालामा भएको रङ्गद्रव्यलाई नियन्त्रण गर्छ। अध्ययनहरूले देखाउँछ कि यदि छालाको क्यान्सरका लक्षणहरू पहिचान गरी चाँडै उपचार गरियो भने, मेलानोमा रोगीहरू मध्ये ९९ प्रतिशत मानिस पाँच वर्ष भन्दा बढी बाँच्न सक्छन्। अस्वास्थ्यकर जीवनशैली परिवर्तनले क्यान्सरको जोखिम बढाएको विज्ञहरू बताउँछन्। विभिन्न अध्ययन र अनुसन्धानका आधारमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले तीन बानीलाई ध्यानमा राखेर छालाको क्यान्सरको जोखिम ७० प्रतिशतले कम गर्न सकिने बताएको छ। यस बारे विस्तृत रूपमा थाहा पाउनुहोस्….

जान्नुहोस् छालाको क्यान्सरका लक्षणहरू 

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का विज्ञहरूका अनुसार छालाको क्यान्सर जोसुकैलाई पनि हुन सक्छ, यसको लक्षण समयमै पहिचान गर्न आवश्यक छ।

  • छालामा गाढा खैरो दागहरू देखिनु
  • छालामा कोठी वा दागको रंग, आकार परिवर्तन हुनु वा रक्तस्राव हुनु
  • लगातार चिलाउनु र जलन हुनुका साथै छालामा असामान्य परिवर्तन देखिनु
  • छालामा गाँठो भएको महसुस हुनु

घामको सम्पर्कबाट बच्नुहोस् 

सूर्यको किरणलाई भिटामिन-डीको सबैभन्दा राम्रो स्रोत मानिने भएता पनि लामो समयसम्म यसको सम्पर्कमा रहने व्यक्तिमा छालाको क्यान्सरको जोखिम निकै बढी हुन्छ। सूर्यको पराबैंगनी किरणहरूको अत्यधिक एक्सपोजरले बुढ्यौलीका लक्षणहरू निम्त्याउन सक्छ जस्तै चाउरीहरू, कालो दागहरू र छालाको क्यान्सरको जोखिम पनि बढ्छ। विशेष गरी दिउँसो बाहिर ननिस्कनुहोस् वा छालालाई राम्ररी छोपेर बाहिर निस्कनुहोस्। सनस्क्रिन प्रयोग गर्नु तपाईंको लागि पनि लाभदायक हुन सक्छ।

पौष्टिक आहार अत्यावश्यक 

धेरै फलफूल र तरकारीहरूमा क्यान्सर प्रतिरोधी गुणहरू फेला पारेको छ, त्यसैले यस्ता फलफूल र तरकारीको सेवन गर्ने बानीले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्न सक्छ। फाइबर, भिटामिन-सी, ए, र ई, कार्बोहाइड्रेट, एन्टिअक्सिडेन्ट, स्वस्थ फ्याट र प्रोटिन जस्ता अत्यावश्यक पोषक तत्वहरूले भरिपूर्ण फलफूल र तरकारीलाई आफ्नो आहारमा समावेश गर्नाले क्यान्सरलगायत धेरै रोगको जोखिमलाई कम गर्न सकिन्छ। धेरै अध्ययनहरूका अनुसार, प्रशोधित रातो मासु, उच्च चिनी र उच्च बोसोयुक्त खानेकुराको उच्च खपतले क्यान्सरको उच्च जोखिमसँग जोडिएको पाइएको छ।

नियमित व्यायाम  

क्यान्सरको जोखिम कम गर्न पर्याप्त शारीरिक गतिविधि गर्न धेरै आवश्यक छ। अनुसन्धानका अनुसार व्यायाम गर्ने बानीले कोलोन, मृगौला, पाचन प्रणाली र स्तन क्यान्सरको जोखिम ३३ प्रतिशतसम्म कम गर्ने गर्छ। नियमित योग-व्यायामलाई दिनचर्यामा समावेश गर्नाले तपाईं शारीरिक रूपमा तन्दुरुस्त मात्र रहनुहुन्न, यो बानीले तपाईंलाई धेरै रोगहरूबाट बचाउन पनि मद्दत गर्छ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८११:१२

आजै थाहा पाउनुहोस् ल्वाङका विभिन्न फाइदा, खतरनाक रोगको रहेछ रामवाण !