काठमाडौं । टेकुस्थित महानगरीय प्रहरी परिसरमा म्यादी प्रहरीमा आवेदन दिने लाइनमा भेटिए, बालाजुका समिर सुनुवार । उनी लाइनको अन्तिमतिरै थिए । आफुसँगै लाइनमा अघिपछि बसेकालाई उनी प्रश्न गर्थे, ‘नेपालमा पढेर पनि के नै हुने रहेछ र है ? मैले एमए पास गरिसकें तर, कसैले जागिर दिंदैन ।’ सुनुवारभन्दा पछिल्लो लाइनमा बसेका किर्तिपुरका श्यामसुन्दर मानन्धरले पढाइको सर्टिफिकेट सुनुवारलाई देखाउँदै भने, ‘यि साथी, हेर्नोस मैले पनि स्नातक गरिसकेको छु । सरकारले स्वदेशमै स्वरोजगारको ललिपप देखाउँछ तर, व्यवहारमा छैन । म्यादी प्रहरीमै भए पनि एक महिना काम गर्दा ४० हजार रुपैयाँ आउने रहेछ । त्यहीभएर आएँ आवेदन दिन ।’ चितवन भरपुरका हरिबाबु कमली पनि पढाइले स्नातक । उनले काठमाडौंको सरस्वती बहुमुखी क्याम्पसबाट स्नातकतहको पढाइ सकेका छन् । बेरोजगार भएकै कारण उनले म्यादी प्रहरीमा जागिर खान आवेदन दिएका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
सुरुमा उनी वैदेशिक रोजगारीका लागि गएका थिए । अहिले बेकामे भएकाले उनले म्यादी प्रहरीमा आवेदन दिएका छन् । बालाजुका समिर, किर्तिपुरकाश्याम सुन्दर, चितवनका हरिबाबु म्यादी प्रहरीमा आवेदन दिनेमध्येका पढेलेखेका पात्रहरु हुन् । देशभरको तथ्याङ्क केलाउने हो भने यस्ता धेरै छन् । यसले देशमा बढ्दै गएको चरम बेरोजगारीको अवस्थालाई देखाउँछ । म्यादी प्रहरीमा भर्ना हुन बिहीबारसम्ममा दुई लाख ६० हजारभन्दा बढीले आवेदन दिइसकेका छन् । आवेदन दिनेमध्ये अधिकांश एसएलसीभन्दा बढी पढेका छन् । आवेदन दिएकामध्ये ३० प्रतिशतभन्दा बढी स्नातक उत्तिर्ण रहेको प्रहरी मुख्यालयले जनाएको छ । प्रहरीले आवेदन लिँदा प्रश्न सोध्छ, ‘यति धेरै पढेर पनि किन म्यादी प्रहरीमा ?’
सबैको जफाव एउटै हुन्छ, ‘पढेर मात्रै हुने होइन रहेछ । जागिर कस्ले दिने ? आफ्ना मान्छे नभई कसैले जागिर दिदैन ।’ आवेदन दिएकामध्ये विशेषगरि मधेश प्रदेशमा त वैदेशिक रोजगारमा गएर फर्किएका धेरै रहेको प्रहरी मुख्यालयले जनाएको छ । वैदेशिक रोजगारमा काम गर्दा मसिक २५ हजार पनि नबच्ने भएपछि भिसा लगाएर पनि म्यादी प्रहरीमा आवेदन दिने युवाको सँख्या कम छैन । काठमाडौंका कुरा गर्दा टेकु परिसरमा त भर्खरै स्नातक गरेर बसेका धेरै आवेदन दिन आएका छन् । परिसरका प्रहरी निरीक्षक अनिल अधिकारीका अनुसार म्यादी प्रहरीमा आवेदन दिन आउने अधिकांश पढेलेखेकै छन् । सरकारले एक लाख म्यादी प्रहरी मागेकोमा अहिले दैनिक आवेदन दिनेको घुइँचो बढेको छ । म्यादी प्रहरीले मासिक ४० हजार रुपैयाँ तलब र पोशाकसँगै लौरो पनि पाउँछन् । प्रहरी प्रधान कार्यालयका अनुसार पाँच दिनसम्ममा दुई लाख ५८ हजार दुई सय ६० जनाले म्यादी प्रहरीका लागि आवेदन दिइसकेका छन् ।
सबैभन्दा बढी मधेश प्रदेशमा आवेदन परेको छ । शुक्रबारसम्म चल्ने आवेदनमा बिहीबारसम्मा मात्रै ६० हजारभन्दा बढीले आवेदन दिइसकेको जानकारी प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले दिएका छन् । उनका अनुसार म्यादी प्रहरीको आवेदन खुला गरिएको पहिलो दिन ३० हजार दुई सय ९९, दोस्रो दिन ५३ हजार दुई सय ९९, तेस्रो दिन ५७ हजार एक सय ६१, चौथो दिन ५८ हजार दुई सय २१ र पाँचौं दिन ६० हजारले आवेदन दिएका छन् । आवेदन शुक्रबारसम्म लिइने छ । यसपटक सरकारले एकै चरणमा स्थानीय तहको चुनाव सक्ने रणनीति लिएको छ । म्यादी प्रहरीमा एसएलसी पास भएकादेखि स्नातकोत्तर पढेकासम्मले आवेदन दिएका छन् । आवेदन प्रक्रिया सकिएपछि छनौट चरणमा जाने जानकारी एसएसपी केसीेले दिए ।
केसीका अनुसार सुरुमा उनीहरुलाई न्यूनतम पाँच किलोमिटर दौडाइने छ । दौडमा मेरिटका आधारमा छनौट गरिन्छ । उनीहरुको शारीरिक तन्दुरुस्तको अवस्था (अग्लो, तौल, छाती, आँखाको अवस्था र रोग) का बारेमा जानकारी लिइने छ । यसरी पनि छनौट एकिन गर्न नसके अन्तवार्तामा जाने जानकारी एसएसपी केसीले दिए । सरकारले यसअघि पोशाक र लौरोलाई छुट्टै बजेटको व्यवस्था गरे पनि यसपटक भने एकै ठाउँमा जोडेर बजेट बिनियोजन गरेको छ ।
एक जनालाई पोशाक र लौरोगरि जम्मा दुई सय रुपैयाँ बजेट बिनियोजन गरिएको मुख्यालयले जनाएको छ । यो पैसाले न पोशाक आउँछ न लौरो नै । तलबमा भने उनीहरुलाई जनही ४० हजारको बजेट बिनियोजन भएको मुख्यालयले जनाएको छ । मधेश प्रदेशपछि उपत्यकामा आवेदन दिनेको सँख्या धेरै रहेको देखिन्छ । उपत्यकामा मात्रै ४० हजारले आवेदन दिइसकेका छन् । कुन निर्वाचन क्षेत्रमा कति म्यादी प्रहरी खटाउने भन्ने विषयमा भने निर्वाचन आयोगले निर्वाचन क्षेत्र छट्याएपछि मात्रै यकिन हुने जानकारी एसएसपी केसीले दिए । ‘निर्वाचन क्षेत्र नै नछुट्टीइकन यो मतदान केन्द्रमा यति म्यादी प्रहरी खटाउने भन्ने निक्र्यौल हुँदैन, ‘ एसएसपी केसीले सौर्य दैनिकसँगको कुराकानीमा भने, ‘आयोगले १२ वा १३ गतेमात्रै मतदान केन्द्र सार्वजनिक गरेपछि कहाँ÷कति खटाउने भन्ने कुराको निक्र्यौल हुनेछ ।’

