एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । अर्जेन्टिनाले भेनेजुएलालाई ३–० ले पराजित गरेको हो ।
ब्युनर्स आयर्समा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा निकोलस गोन्जालेज, एन्जल डि मारिया र कप्तान लियोनेल मेस्सीले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।
खेलको ३४औं मिनेटमा रोड्रिगो डि पउलको पासमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ७९औं मिनेटमा परिवर्तित खेलाडी एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।
७०औं मिनेटमा एलेक्सिसम्याक एलिस्टरको स्थानमा मैदान छिरेका एन्जल डि मारियाले रोड्रिगो डि पउलको पासमा गोल गरेका थिए । त्यसपछि ८२औं मिनेटमा एन्जल डि मारियाकै पासमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।
यो जितपछि दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिना १६ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिनाले ११ जित र ५ बराबरीको नतिजा निकालेको छ । पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोडेर पुछारमा रहेको छ ।

