औवामियाङलाई बेचेर पछुताइरहेको छ आर्सनल ?

एजेन्सी – गाबोनका फुटबलर पिएरे इमरिक औवामियाङका लागि सन् २०२१-२०२२ सिजनका शुरुवाती समय कष्टकर रह्यो। सिजनको शुरुवातमा उनले राम्रो प्रदर्शन गर्न पनि सकेनन् र अनुशासनात्मक उल्लङ्घनका लागि उनी आर्सनलको कारवाहीमा समेत परे।

अनुशासनात्मक उल्लङ्घनका लागि कारवाहीमा परेपछि उनले आर्सनलमा नियमित खेल्न पाउनै छाडे। उनलाई खेलाउने भन्दा पनि बेच्नेमा आर्सनलको प्राथमिकता रह्यो। तर उनको लागि खासै राम्रो प्रस्तावहरु आएनन्।

उता लालिगामा कम्जोर प्रदर्शन गरिरहेको बार्सिलोनालाई राम्रो स्ट्राइकर चाहिएको थियो। लियोनेल मेस्सीले क्लब छाडेपछि धर्मराएको आक्रमणलाई ट्रयाकमा ल्याउन बार्सिलोनाले जनवरी ट्रान्सफर विन्डोको अन्तिम समयमा आर्सनललाई सम्पर्क गर्यो।

पहिला बार्सिलोनाले आर्सनलसँग औवामियाङलाई लोनमा भित्र्याउने प्रस्ताव गरेको थियो। तर कुराकानी अगाडी बढ्दै गर्दा औवामियाङलाई स्थायी रुपमा नै भित्र्याउन सकिने अवस्था बन्यो। औवामियाङ पनि आर्सनल छाडेर बार्सिलोना जान इच्छुक देखिए। अन्ततः औवामियाङसँग बार्सिलोनाले सम्झौता गरे।

बार्सिलोना आएपनि औवामियाङको छुट्टै रुप देखियो। बार्सिलोनाका लागि उनले लगातार उत्कृष्ट प्रदर्शन गरे। उनले बार्सिलोनाका लागि लालिगामा ७ खेल खेल्दा सातै गोल गरे। बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गर्दा पनि औवामियाङले दुई गोल गरे। सो प्रदर्शनपछि बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले औवामियाङलाई आकाशबाट झरेको सुन्दर उपहारकै रुपमा चित्रण गरे।

औवामियाङलाई बेचेर पछुताइरहेको छ आर्सनल ?

जारी सिजनमा औवामियाङले आर्सनलका लागि प्रिमियर लिगमा कुल १४ खेल खेले। जसमा उनले ४ गोल मात्र गर्न सके। आर्सनलका लागि पछिल्ला ४० खेल मध्ये २८ खेलमा उनले गोल गर्न सकेका थिएनन्।

औवामियाङले छाडेपछि आर्सनललाई खासै असर परेको देखिँदैन। औवामियाङले छाडेपछि आर्सनलले झनै राम्रो प्रदर्शन गरिरहेको छ। उत्कृष्ट प्रदर्शनकै कारण आर्सनल अहिले प्रिमियर लिगको चौंथो स्थानमा छ। यस हिसाबले औवामियाङको बहिर्गमन आर्सनलका लागि वरदान नै सावित भएको छ।

प्रकाशित : आइतबार, चैत १३, २०७८१३:५४

डि मारियाले गरे अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा, मेस्सीले पनि दिए सङ्केत !