एजेन्सी – स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सफलता हात पार्दा बेल्जियम भने बराबरीमा रोकिएको छ । आरसिडिइ स्टेडियम कोर्नेल्ला स्पेनमा शनिबार राति भएको खेलमा स्पेनले घरेलु मैदानमा अल्वानियालाई २–१ ले पराजित गरेको हो ।
स्पेनको जितमा फेरान टोरेस र ड्यानियल ओल्मोले गोल गरे । अल्वानियाका मेरटो उजनीले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको ७५औं मिनेटमा फेरान टोरेसको गोलबाट स्पेनले सुरुवाती अग्रता बनायो । उनले यारेमी पिनोको पासमा गोल गर्न सफल भएका थिए ।
८५औं मिनेटमा मेरटो उजनीले बराबरी गोल फर्काए । त्यसपछि परिवर्तित खेलाडी डेयानियल ओल्मोले ९०औं मिनेटमा गोल गर्दै स्पेनको जित पक्का गरे । ओल्मो ६३औं मिनेटमा पाब्लो गाभीको स्थानमा मैदान छिरेका थिए ।
अर्काे खेलमा बेल्जियमले दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा आयरल्यान्डसँग २–२ गोलको बराबरी खेलेको छ । बेल्जियमका मिचे बात्सुयाई र हान्स भानाकेनले गोल गर्दा घरेलु टोली आयरल्यान्डका चिडोजे ओग्वेने र एलान ब्राउनले बराबरी गोल फर्काए ।
१२औं मिनेटमा मिचे बात्सुयाईको गोलबाट बेल्जियमले सुरुवाती अग्रता लिएको थियो । ३६औं मिनेटमा चिडोजे ओग्वेनेले बराबरी गोल फर्काए ।
५९औं मिनेटमा हान्स भाननकेनले गोल गर्दै बेल्जियमलाई पुनः २–१ को अग्रता दिलाए । तर, ८६औं मिनेटमा एलान ब्राउनले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

