एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) आउने सिजन क्लबको जिम्मेवारी जिनेदिन जिदानलाई दिन चाहन्छ। जिदानलाई प्रशिक्षकको रुपमा ल्याउने पिएसजीको सपना नै हो। पिएसजीले अहिले नभई धेरै समय अगाडी देखि जिदानलाई क्लबको प्रशिक्षकको रुपमा ल्याउन प्रयास गरिरहेको छ।
गत सिजनको अन्त्यमा रियल म्याड्रिड छाडेयता जिदान खालि छन्। जिदान कुनै पनि टोलीसँग आवद्ध छैनन्। जिदानले फ्रान्सको राष्ट्रिय टोली सम्हाल्ने कुरा चलिरहेपनि हालको लागि त्यो सम्भव देखिँदैन।
यस्तोमा जिदानलाई पिएसजी सहितका विभिन्न क्लबहरुले सम्पर्क गरिरहेका छन्। तर जिदानले आफ्नो भविष्यलाई लिएर कुनै पनि निर्णय गरिसकेका छैनन्। गएको एक वर्षको समयमा पिएसजीका अधिकारीहरुले कयौं पटक जिदानलाई भेटिसकेको बताइन्छ। पिएसजीले जिदानलाई कयौं आकर्षक प्रस्ताव राखिसकेको छ। तर पनि पिएसजी जाने हुन् कि होइनन् भन्ने अझै स्पष्ट छैन।
जिदान क्लबको जिम्मेवारी सम्हाल्न् इच्छुक छन् कि छैनन् भन्ने स्पष्ट नहुँदा पिएसजीले ‘प्लान बि’ तयार पारेको छ। फ्रेन्च मिडियाहरुका अनुसार जिदानले स्पष्ट जवाफ नदिएका कारण पिएसजीले ‘प्लान बि’ तयार पारेको हो।
पिएसजीको प्लान बिमा इटालियन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रोबर्टो म्यान्सिनी रहेका छन्। इटाली विश्वकप छनौटबाट बाहिरिएसँगै जोखिममा परेका रोबर्टो म्यान्सिनीलाई भित्र्याउने पिएसजीको तयारी रहेको बताइन्छ। जिदानले क्लबको जिम्मेवारी लिन नमानेको खण्डमा म्यान्सिनीलाई ल्याउने पिएसजीले योजना बनाएको बताइन्छ।

