एजेन्सी – क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको आज अग्नि परीक्षा हुँदैछ। फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको फाइनलमा रोनाल्डो र पोर्चुगलको वास्तविक परीक्षा हुन लागेको हो।
विश्वकपका लागि छनौटका लागि पोर्चुगल र नर्थ म्यासेडोनिया आज राति आमने-सामने हुनेछन्। आज राति हुने खेलमा दुवै टोली जित निकाल्ने दबावमा हुनेछन्। आज जित निकाल्ने टोलीले मात्रै विश्वकपमा स्थान बनाउनेछ।
पोर्चुगल प्ले अफको सेमिफाइनलमा टर्कीलाई पराजित गरेर फाइनलमा आइपुगेको हो। पोर्चुगलले केहि दिन अगाडी भएको खेलमा टर्कीलाई ३-१ को गोल अन्तरले पराजित गरेको थियो। त्यसबेला पोर्चुगलका लागि ओटाभियो, डिएगो जोटा र म्याथिएस लुइजले गोल गरेका थिए।
त्यस्तै नर्थ म्यासेडोनिया भने सेमिफाइनलमा युरोपियन च्याम्पियन इटालीलाई स्तब्ध पार्दै फाइनलमा आइपुगेको हो। नर्थ म्यासेडोनियाले इटालीलाई १–० ले स्तब्ध बनाएको थियो। सो खेलमा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले निर्णायक गोल गरेका थिए।
युरो २०२० को च्याम्पियन इटालीलाई पराजित गरेको नर्थ म्यासेडोनिया विरुद्धको खेल पोर्चुगलका लागि त्यति सहज हुने छैन। त्यस्तै पोर्चुगल युरोपकै उत्कृष्ट डिफेन्डरको उपाधि जितेका रुबेन डियास बिना मैदानमा उत्रनेछ।
पछिल्लो खेलमा खेल्न नपाएका फुलब्याक जोआओ क्यान्सेलो भने आजको खेलका लागि उपलब्ध हुनेछन्। कोरोना संक्रमणका कारण पछिल्लो खेल गुमाएका दिग्गज डिफेन्डर पेपे समेत नर्थ म्यासेडोनिया विरुद्ध खेल्नेछन्।
खेल पोर्चुगलको घरेलु मैदानमा हुनेछ। खेल नेपाली समय अनुसार रातको १२ बजेर ३० मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

