एजेन्सी – पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका लागि आजको दिन धेरै नै विशेष रहनेछ। करियरको अन्तिम वर्षहरुमा रहेका रोनाल्डोले आजको दिन सधैं सम्झिनेछन्। यस दिनलाई रोनाल्डो कि जीवनकै सबै भन्दा राम्रो दिनको रुपमा सम्झिनेछ्न्, कि करियरकै खराब दिनको रुपमा सम्झिनेछन्।
फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको फाइनलमा आज पोर्चुगलले नर्थ म्यासेडोनियाको सामना गर्दैछ। घरेलु मैदानमा हुने खेलमा जित निकाल्न सके रोनाल्डो करियरको अन्तिम विश्वकपमा सहभागी हुन पाउनेछन्। तर हार बेहोरेको खण्डमा सन् २०१८ को विश्वकप रोनाल्डोको अन्तिम विश्वकप हुनेछ।
पछिल्लो समय खासै राम्रो लयमा नरहेपनि रोनाल्डोले सक्दो बल लगाउनेछन्। रोनाल्डो राम्रो लयमा नरहेपनि पोर्चुगलका अन्य खेलाडीहरु राम्रो लयमा छन्। जसको फाइदा पोर्चुगलले उठाउन सक्नेछ। रोनाल्डोबाट प्रेरित पोर्चुगलको टोलीले इटालीलाई हराएको नर्थ म्यासेडोनियालाई घुँडा टेकाउन सक्दो प्रयास गर्नेछ।
रोनाल्डो नर्थ म्यासेडोनियालाई कम्जोर आँकेर खेल्ने पक्षमा भने छैनन्। खेल अगाडी रोनाल्डोले नर्थ म्यासेडोनिया धेरै व्यवस्थित टोली रहेको बताए। नर्थ म्यासेडोनियाको सम्मान गर्दै गम्भीर भएर खेल्ने रोनाल्डोको भनाई छ। त्यस्तै रोनाल्डो पोर्चुगल उत्कृष्ट लयमा रहेको पनि दावी गर्छन्। रोनाल्डोका अनुसार पोर्चुगलले विश्वका जुन सुकै देशलाई हराउन सक्छ।
“हाम्रा लागि यो जीवनकै महत्वपूर्ण खेल हो। म अघिल्लो खेलमा पाएको समर्थनको कदर गर्छु। नर्थ म्यासेडोनिया धेरै संगठित र व्यवस्थित छ। हामी यसलाई सम्मान गर्छौं। तर हामी उत्कृष्ट फर्ममा छौँ। अहिले विश्वको कुनै पनि टोलीलाई हराउन सक्छौं।”,खेल अगाडी रोनाल्डोले भने।

