बार्सिलोनाको टार्गेटका सहकर्मी उछिट्याउँने रियलको दाउ, यति धेरै रकम तिर्न भयो तयार !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना ब्राजिलियन विङ्गर राफिनालाई जसरी पनि आउने ट्रान्सफर विन्डोमा भित्र्याउन चाहन्छ। सन् २०२० मा प्रिमियर लिग क्लब लिड्स युनाइटेड पुगेयता चर्चामा रहेका उनलाई समर ट्रान्सफर विन्डोमा भित्र्याउने बार्सिलोनाको योजना छ।

राफिनालाई भित्र्याउन बार्सिलोनाले अहिले देखि नै तयारी शुरु गरिसकेको छ। ट्रान्सफर मार्केटका जानकारीहरुका अनुसार बार्सिलोनाका अधिकारीहरुले राफिना र उनका प्रतिनिधिहरुलाई भेटघाट गरिसकेका छन्।

राफिना सन् २०२० मा रेनेसबाट लिड्स आएका थिए। लिड्सले उनलाई भित्र्याउन २० मिलियन युरो खर्च गरेको थियो। लिड्स आएयता उनले ५९ खेलमा १५ गोल गरेका छन् भने १२ असिस्ट दिएका छन्। प्रिमियर लिग पुगेयता नै उनले युरोपका ठूला क्लबहरुको ध्यान तानिरहेका छन्।

राफिनालाई बार्सिलोनाले भित्र्याउने तयारी गरेपछि प्रतिद्वन्दी क्लब रियल म्याड्रिडले लिड्सकै अर्का खेलाडी भित्र्याउने तयारी गरेको छ। स्पेनिस मिडियाहरुले गरेको दावी अनुसार रियलले लिड्सका काल्भिन फिलिप्स माथि रियलको नजर रहेको छ।

काल्भिन फिलिप्सलाई रियलले धेरै नजिकबाट नियालिरहेको छ। होल्डिङ मिडफिल्डरको रूपमा खेल्ने २६ वर्षिय फिलिप्सलाई आउने समर ट्रान्सफर विन्डोमा भित्र्याउने रियलको तयारी छ।

रियलले पहिला राफिनालाई नजर लगाएको थियो। तर राफिना बार्सिलोना जान तयार भएपछि रियलको ध्यान फिलिप्स तर्फ मोडिएको छ। रियल फिलिप्सका लागि ६० मिलियन युरो तिर्न तयार रहेको बताइन्छ। लिड्समा फिलिप्सको सम्झौता सन् २०२४ सम्मका लागि छ। यस्तोमा रियलले उनलाई भित्र्याउन लिड्सलाई मनाउनुपर्ने हुन्छ।

प्रकाशित : मङ्गलबार, चैत १५, २०७८०९:३२

सन्यास लिने मुडमा मेस्सी ?