फिफा विश्वकप छनोटको प्लेअफ फाइनलमा आज राति पोर्चुगलले उत्तरी म्यासेडोनियासँग खेल्दा क्रिस्टियानो रोनाल्डोले सुरुवात गर्ने अपेक्षा गरिएको छ। नेपाली समय अनुसार आज राति १२:३० बजे हुने खेलको विजेताले यस वर्ष कतारमा हुने विश्वकपमा स्थान बुक गर्नेछ।

पोर्चुगलले प्लेअफको सेमिफाइनलमा टर्कीलाई ३–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। ओटाभियो, डियोगो जोटा र म्याथ्युस नुनेसका गोलको मद्दतमा पोर्चुगलले उत्तरी म्यासेडोनियासँगको खेल बुक गरेको थियो। रोनाल्डोले टर्कीविरुद्ध पूरा ९० मिनेट खेलेका थिए। तर उनी एक गोलमा पनि संलग्न हुन सकेनन्।
अर्कोतर्फ उत्तरी म्यासेडोनियाले युरो २०२० को विजेता इटालीलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। पोर्चुगल अब कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपका लागि छनोट हुनबाट एक खेल मात्र टाढा रहेको छ। उनीहरू प्रेरणाको लागि आफ्ना कप्तान रोनाल्डोलाई हेर्नेछन्। ३७ वर्षीय खेलाडी र पछिल्लो खेलका दुई गोलकर्ता डियोगो जोटा र ओटाभियो आक्रमण पङ्क्तिमा खेल सुरु गर्न सक्छन्।

रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरमा एक पटक मात्र उत्तरी म्यासेडोनियाको सामना गरेका छन्। रोनाल्डोले यस विपक्षी विरुद्ध सन् २०१२ मा खेलेका थिए जुन खेल गोलरहित बराबरीमा सकिएको थियो। रोनाल्डोले आफ्नो राष्ट्रिय टोलीलाई लगातार छैटौं विश्वकपमा डोर्याउन खोजिरहेका छन्। उनले विश्वकपको अन्तिम चार संस्करणहरूमा प्रदर्शन गरेका छन्, जर्मनीमा २००६ को विश्वकप उनको पहिलो थियो। सो अवसरमा पोर्चुगल सेमिफाइनलमा पुगेको थियो तर फ्रान्ससँग पराजित भएको थियो।
यस पटक नै रोनाल्डोको विश्वकप जित्ने सबैभन्दा नजिक पुगेका थिए। २००६ देखि, पोर्चुगलले राउन्ड अफ १६ चरण (२०१०, २०१८) मा दुई पराजय भोगेको छ। उनीहरू सन् २०१४ मा प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएका थिए।

