ग्रिजम्यान बार्सिलोनामै फिर्ता ?

एजेन्सी – एट्लेटिको म्याड्रिडले एन्टोइनको ग्रिजम्यानको लोन सम्झौता थप गर्ने रणनीति बनाएको छ। खेल मिडिया ‘गोल’का अनुसार एट्लेटिकोले ग्रिजम्यानलाई किन्ने भन्दा पनि लोन सम्झौता थप गर्ने रणनीति बनाएको हो।

ग्रिजम्यान यसै सिजन क्याटलान क्लब बार्सिलोनाबाट एट्लेटिको फर्किएका हुन्। एट्लेटिकोले उनलाई लोन सम्झौतामा भित्र्याएको थियो। दुई क्लब बीच भएको सम्झौता अनुसार एट्लेटिकोले ग्रिजम्यानलाई स्थायी रुपमा भित्र्याउन सक्छ। त्यसको लागि एट्लेटिकोले बार्सिलोनालाई ४० मिलियन युरो तिर्नुपर्ने हुन्छ।

तर एट्लेटिको ग्रिजम्यानलाई स्थायी रुपमा भित्र्याउने पक्षमा भने छैन। एट्लेटिको ग्रिजम्यानको लोन सम्झौता थप एक सिजन लम्ब्याउने पक्षमा रहेको गोलको दावी छ। ग्रिजम्यानलाई स्थायी रुपमा भित्रयाउन एट्लेटिको तयार नभएको अवस्थामा बार्सिलोनाले उनलाई फिर्ता बोलाउन पनि सक्छ।

बार्सिलोनाले ग्रिजम्यानलाई एट्लेटिकोबाट सन् २०१९ मा १ सय २० मिलियन युरो तिरेर ल्याएको थियो। एट्लेटिकोमा धेरै राम्रो गरिरहेका उनले बार्सिलोना आएपछि भने केहि खास प्रदर्शन गर्न सकेनन्। निरन्तरको कम्जोर प्रदर्शनसँगै बार्सिलोनाले उनलाई बिक्री गर्ने प्रयास गरेको थियो। तर बिक्री गर्ने सबै प्रयास असफल भएपछि बार्सिलोनाले ग्रिजम्यानलाई एट्लेटिको लोनमा पठाएको थियो।

एट्लेटिको फिर्ता हुन ग्रिजम्यान आफ्नो पारिश्रमिक ४० प्रतिशतले घटाउन तयार भएका थिए। त्यसबेला बार्सिलोना र एट्लेटिको बीच भएको सहमति अनुसार सिजनका आधा खेल खेलेको खण्डमा एट्लेटिकोले ग्रिजम्यानलाई ४० मिलियन युरोमा स्थायी रुपमा भित्र्याउन सक्छ।

प्रकाशित : बुधबार, चैत १६, २०७८१२:१७

सिटी विरुद्धको निर्णायक खेल अगाडी लिभरपुललाई एकै खेलाडीको चिन्ता !