एजेन्सी – प्रिमियर लिग उपाधि होडमा रहेको लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड गएको केहि समय देखि घाइते छन्। प्रिमियर लिगको पछिल्लो आर्सनल विरुद्धको खेलमा ह्यामस्ट्रिङमा चोट लागेको थियो। त्यसयता उनी आराम गरिरहेका छन्।
उपाधि होडमा निर्णायक हुन सक्ने खेलहरु नजिकिँदै गर्दा आर्नोल्ड मैदान फर्किने टुंगो अझै लागिसकेको छैन। अप्रिल महिनाभर लिभरपुलले कुल ९ खेल खेल्दैछ। ती मध्ये सिजनकै सबै भन्दा महत्वपूर्ण मानिएको म्यानचेस्टर सिटी विरुद्धको खेलका लागि उनी उपलब्ध हुनेमा शंका रहेको बेलायती मिडियाहरु बताउँछन्।
अप्रिलको दोस्रो सातामा लिभरपुलले सिटीको सामना गर्दैछ। सिटीको घरेलु मैदानमा हुने सो खेल उपाधि होडमा निर्णायक बन्न सक्छ। मात्रै एक अंकको दूरी रहेको अवस्थामा सो खेलमा जित निकाल्ने टोलीले प्रिमियर लिग उपाधि उचाल्ने सम्भावना बढेछ।
जारी सिजनमा आर्नोल्ड लिभरपुलका लागि महत्वपूर्ण खेलाडीको रुपमा देखिएका छन्। लिभरपुलले खेलेका २९ प्रिमियर लिग खेल मध्ये उनले २६ खेल खेलेका छन्। यस बीचमा उनले २ गोल गरेका छन् भने ११ असिस्ट दिएका छन्। आर्नोल्ड प्रिमियर लिगको जारी सिजनमा सबै भन्दा बढी असिस्ट दिने खेलाडी हुन्।
लिभरपुलको डिफेन्सको महत्वपूर्ण हिस्सा समेत रहेका उनी अहिले दुबईमा आराम गरिरहेका छन्। उनी सिटी विरुद्धको खेल सम्म ठीक भइसक्ने भएपनि सो खेलमा आर्नोल्डलाई प्रयोग नगरिन सक्छ।

