एमालेसँग तर्सियो कांग्रेस !

काठमाडौं । केही शीर्ष नेताहरुको विरोधका बावजुद नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा अन्य दलहरुसँग गठबन्धन गर्ने निर्णय गरेको छ । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसको मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

गत शुक्रबार सुरु भएको बैठकमा ‘चुनावी गठबन्धन’कै विषयलाई लिएर सबैभन्दा बढी चर्काचर्की परेको थियो । अन्ततः बैठकले आगामी निर्वाचनमा अवस्था र आवश्यक्ता अनुसार अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो । स्थानी तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।

पार्टी केन्द्रीय समितिको बैठकले गठबन्धनमा जाने नीतिगत निर्णय सर्वसम्मत रुपमा गरेको जानकारी प्रवक्ता डा. प्रकाशशरण महतले दिए । नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले बताए ।

गठबन्धनमा रहेका दलहरुको क्षमताका आधारमा तालमेल गर्ने निर्णय कांग्रेसले गरेको हो । बैठकमा शीर्ष नेताहरुले चुनावी तालमेलको विषयलाई लिएर फरक÷फरक मत राख्दै आएका थिए । सभापति शेरबहादुर देउवा आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुबीच चुनावी तालमेल हुनुपर्नेमा पहिलेदेखि नै स्पष्ट देखिएका थिए ।

उनले अहिलेको स्थितिमा चुनावी गठबन्धन कांग्रेसकै लागि पनि आवश्यक रहेको धारणा ब्यक्त गर्दै आएका छन् । कांग्रेसका दुई महामन्त्रीले भने बैठकमा तालमेलको विषयलाई लिएर फरक÷फरक विचार राखेका थिए ।

महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचनमा आवश्यक्ताका आधारमा चुनावी गठबन्धन गर्नुपर्ने पक्षमा थिए । शर्माले हरेक स्थानीय तहमा सबै दलको हैंसियत समान नहुने भन्दै आवश्यक्ताका आधारमा चुनावी तालमेल आवश्यक रहेको बताएका थिए ।

अर्का महामन्त्री गगन थापा भने चुनावी गठबन्धनको विपक्षमा देखिएका थिए । उनले निर्वाचनमा कांग्रेस एक्लैले अगाडि बढ्ने आँट गर्नुपर्ने धारणा राखेका थिए । चुनावी गठबन्धनको निर्णय गर्नुअघि थपिएका नयाँ मतदाताको मनस्थितिलाई पनि ध्यानमा दिनुपर्ने उनको तर्क थियो ।

नेता डा. शेखर कोइराला पनि चुनावी गठबन्धनको विपक्षमा उभिएका थिए । खासगरी चितवनका नेता÷कार्यकर्ता तालमेलको विपक्षमा देखिएका छन् । बैठकले गत फागुन ३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी कांग्रेसले देशव्यापी रुपमा पार्टीको साधारण सदस्यता र क्रियाशील सदस्यता वितरण पनि सुरु गर्ने निर्णय गरेको छ । यसअघि महाधिवेशनको समय नजिकिएपछि मात्र सदस्यता वितरण गर्दा विवाद हुने गरेको भन्दै कांग्रेसले यस वर्ष अहिले नै सदस्यता वितरण गर्न लागेको प्रवक्ता डा. महतले बताए ।

प्रकाशित : बुधबार, चैत १६, २०७८०९:१०

चन्द्रागिरिको केबलकार एकाएक बन्द भयो, ३७ यात्रु यात्रु थुनिए !