एजेन्सी – फ्रेन्च विङ्गर उस्मान डेम्बेलेको क्याटलान क्लब बार्सिलोनामा यहि सिजन सम्मका लागि मात्र सम्झौता छ। यस सिजनको अन्त्यसँगै उनी फ्री ट्रान्सफरमा बार्सिलोनाबाट अन्यत्र जान पाउनेछन्।
जनवरीबाटै अन्य क्लबसँग सम्झौता गर्नका लागि खुला भइसकेका उनलाई बार्सिलोनाले गत जनवरीमै सम्झौता थपको प्रस्ताव गरेको थियो। तर बार्सिलोनाको तर्फबाट भएका प्रस्तावमा डेम्बेले सहमत हुन सकेका थिएनन्।
त्यसबेला डेम्बेलेले बार्सिलोनासँग उच्च पारिश्रमिक माग गरेका थिए। डेम्बेलेले उच्च पारिश्रमिक माग गरेपछि बार्सिलोना र डेम्बेले पक्षबीच सम्झौता थपको संवाद नै टुटेको थियो। जनवरी यता डेम्बेलेको प्रदर्शनमा निकै ठूलो परिवर्तन आएको छ। त्यसयता डेम्बेलेले बार्सिलोनाका लागि धेरै राम्रो प्रदर्शन गरिरहेका छन्।
पछिल्लो खबरका अनुसार बार्सिलोना र डेम्बेले बीच सम्झौता थपको संवाद पुनः शुरु हुने अवस्था उत्पन्न भएको छ। बार्सिलोनाले डेम्बेलेलाई नयाँ सम्झौताको प्रस्ताव गर्ने तयारी गरिरहेको स्पेनिस मिडियाहरु बताउँछन्। डेम्बेलेका एजेन्ट र बार्सिलोनाका अधिकारीबीच छिट्टै नै सम्झौता थपका विषयमा कुराकानी हुने स्पेनिस मिडिया स्पोर्ट्सले जनाएको छ।
बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देज डेम्बेलेका ठूला प्रशंसक हुन्। जाभी डेम्बेलेलाई आफ्नो दिर्घकालिन योजनामा समावेश गर्न चाहन्छन्। जाभीकै चाहनाका कारण पनि बार्सिलोनाले डेम्बेलेलाई नयाँ सम्झौताको प्रस्ताव गर्न लागेको बताइन्छ। सन् २०२२ लागेपछि मात्रै डेम्बेलेले लालिगामा ७ असिस्ट दिसकेका छन्। यस बीचमा उनले एक गोल समेत गरेका छन्।