पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी जोआन लापोर्टा क्लबको अध्यक्ष रहुन्जेल बार्सिलोना फर्कन इच्छुक नभएको बताइएको छ। पेरिसमा निराशाजनक डेब्यू सिजन पछि ३४ वर्षीय स्टारको पार्क डे प्रिन्सेसमा भविष्यको बारेमा गहन अनुमान सुरु भएको छ।
पूर्व बार्सिलोना कप्तानले यस सिजन पीएसजीका लागि सबै प्रतियोगितामा २६ खेलमा जम्मा सात गोल गरेका छन्, जसमा १८ लिग खेलमा मात्रै दुई गोल रहेका छन्। पीएसजी रियल म्याड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको एक हप्तापछि घरेलु लिग खेलमा पीएसजी समर्थकले मेस्सी विरुद्धको नारा समेत लगाएका थिए। म्याड्रिड विरुद्ध पहिलो लेगमा पेनाल्टी मिस गरेका मेस्सीको प्रदर्शन दुबै लेगमा निकै कमजोर रहेको थियो।
फरवार्डको सिजनभर फ्रान्सेली मिडियाले पनि चौतर्फी आलोचना गर्दै आएका छन्। बार्सिलोनामा सम्भावित पुनरागमनको दावी गरिएको छ, तर TyC स्पोर्ट्सका अनुसार, पीएसजी स्टार वर्तमान अध्यक्षको अधीनमा कुनै पनि हालतमा फर्कने मुडमा छैनन्। यस गर्मीमा बार्सिलोनाका पूर्व कप्तान क्लबमा फर्कने सम्भावनाको बारेमा सोध्दा, लापोर्टाले जवाफ दिए: “हामीले यसलाई विचार गरेनौं। हामी नयाँ टोली निर्माण गर्दैछौं, युवाहरूको साथमा। म उहाँसँग कुरा गर्दिन। मसँग उहाँले क्लब छाड्नु भन्दा अगाडीको जस्तो तरल संचार छैन। त्यहाँ कुनै व्यक्तिगत सम्पर्क छैन; म उहाँलाई स्नेहपूर्वक सम्झन्छु।”