काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले वर्तमान सरकारमा आफ्नो पार्टीको तर्फबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउने सम्भावना बढेको छ। सरकारमा रहेका मन्त्रीहरुले काम गर्न नसकेको भन्दै फिर्ता बोलाउन पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई चर्को दबाव दिएसँगै जसपाको तर्फबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाइन लागिएको हो।
पार्टीका विभिन्न नेताहरुले पार्टीले पाएको चार मन्त्रालयमा मन्त्री बनाइएकाहरुलाई तत्काल फिर्ता बोलाउन दबाव शिर्जना गरिरहेका छन्। वर्तमान मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री थप्न नेताहरुहरुको माग छ।
जसपा गठवन्धनमा सहभागी हुँदा पार्टी भित्र आलोपालोको सहमति भएको थियो। ६-६ महिनामा मन्त्री फेरिने पूर्ववत सहमति कार्यान्वयन गर्न नेताहरुले यादवलाई निरन्तर दबाव दिरहेको बताइन्छ।
संसदीय दल र कार्यकारिणी समिति बैठकमा अध्यक्ष यादवले छ महिनापछि नयाँ मन्त्री पठाउने बताएको जसपाका नेताहरु बताउँछन्। यादवको वचन अनुसार नै आफूहरुले नयाँ मन्त्री पठाउन माग गरिरहेको जसपा नेताहरुको भनाई छ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन्।