एजेन्सी – यतिबेला प्रदर्शनमा रहेको दक्षिण भारतीय फिल्म ‘आरआरआर’को सर्वत्र चर्चा छ। आरआरआरले बक्स अफिसमा तहल्का नै मच्चाइरहेको छ। विभिन्न भाषामा रिलिज भएको यस चलचित्रले ६ सय करोड भारतीय रुपैंयाँ भन्दा बढीको व्यापार गरिसकेको छ।
चलचित्रले धेरै राम्रो व्यापार गरिरहेका बेला चलचित्रकी नायिका रहेकी आलिया भट्ट र निर्देशक एसएस राजामौलीबिच पानी बाराबारको अवस्था उत्पन्न भएको छ।
चलचित्रमा रहेका आफ्ना दृश्यहरु हटाइएका कारण भट्ट निर्देशक राजामौलीसँग रुष्ट भएको भारतीय संचार माध्यमहरु बताउँछन्। तीन घण्टा भन्दा लामो रहेको चलचित्रमा आलियाका दृश्यहरु धेरै कम देखाइएको थियो। चलचित्रमा आलियाले ‘सिता’को भूमिका निभाएकी छन्। आलियाले २० मिनेटको दृष्यका लागि ९ करोड पारिश्रमिक लिएकी थिइन्।
चलचित्रको प्रमोसनका लागि धेरै समय खर्चिएको भएपनि कम स्क्रिन टाइम पाएपछि आलियाले सामाजिक सञ्जालबाट फिल्मको प्रचार सामग्री समेत हटाइसकेकी छन्। आलियाले निर्देशक राजामौलीलाई इन्स्टाग्राममा समेत अनफलो गरेकी छन्।