ब्याक नगर भनेर चिच्याउँदा समेत टिपर चालकले ब्याक गरिरहे, दिदीबहिनीकै चुँडियो प्राण !

काठमाडौं : नाबालिका छोरीहरू सृष्टि र श्रेयालाई बुधबार बिहान मोटरसाइकलमा राखेर रोहन घिसिङ तामाङ स्कुल लैजाँदै थिए। मेलम्ची चोक अगाडि साँघुरो बाटोमा रोहनको मोटरसाइकललाई टिपरले ठक्कर दियो। स्थानीयवासी ‘ब्याक’ नगर्न भनेर चिच्याए। तर, टिपर चालकले टिपर ‘ब्याक’ गरिरहे। त्यसपछि घटनास्थलमै दिदीबहिनीको ज्यान गएको प्रहरी अधिकारीले बताएका छन्। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।

यो घटना बुधबार बिहान पौने ९ बजे गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा भएको हो। दुर्घटनामा मृत्यु भएका दिदीबहिनी स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा नर्सरी र कक्षा २ मा अध्ययनरत थिए। टिपरले किचेर गम्भीर घाइते भएका रोहनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। रोहनकी श्रीमती अर्धचेत अवस्थामा छन्। अत्तरखेलस्थित अस्पताल प्रांगणमा दिनभर आफन्तको रुवावासी चलेको थियो।

‘दिदीबहिनी नै अनुशासित थिए। उनीहरूको गृहकार्य छुट्दैन थियो। विद्यालयको अतिरिक्त कार्यक्रममा समेत सहभागी हुन्थे। प्रायः विद्यालय बसमा नै जाने उनीहरूलाई ढिला भएको बेला बुवा रोहन घिसिङ तामाङले मोटरसाइकलमा पुर्‍याइदिने गर्थे’, स्कुलका प्रिन्सिपल निराजन सेढाईंले भने, ‘अब उनीहरू सम्झनामा सीमित भए।’

श्रृष्टि र श्रेयाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी सुदीप गिरिले बताए। ‘बुबाले बा.५१प ८७३३ नम्बरको मोटरसाइकलमा राखेर विद्यालयमा लैजाँदै गर्दा बा.४ख ६९६५ नम्बरको टिपरले पछाडि सरेर ठक्कर दिएको हो,’ एसएसपी गिरिले भने, ‘टिपर चालकको लापरबाहीले घटना भएको देखिन्छ।’ साँघुरो बाटोमा अगाडिबाट अर्को टिपर आएर साइड दिन ब्याक गर्दा मोटरसाइकललाई किचेको पाइएको उनले बताए। स्थानीयले पछाडि मोटरसाइकल छ भनेर कराउँदा–कराउँदै टिपर चालकले सुन्दै नसुनी ब्याक गरेको प्रत्यक्षदर्शी बताउँछन्।

‘चालकको गम्भीर लापरबाही देखिन्छ,’ गोकर्णेश्वरका मेयर सन्तोष चालिसेले भने, ‘घाइते रोहन घिसिङको अवस्था निकै गम्भीर छ। टिपरले घाइते भएको थाहा पाएपछि मार्न नै प्रयास गरेको देखियो।’

मेयर चालिसेका अनुसार रोहन विदेशबाट फर्किएर खेतीपाती गरेर जीवन गुजारा गरिरहेका हुन्। ‘आम्दानीको स्रोत खासै केही देखिँदैन। बाबुले दैनिक मजदुरी गरेर परिवार चलाएका थिए। छोरीहरू पढाउँदै थिए’, चालिसेले भने।

प्रकाशित : बिहिबार, चैत १७, २०७८०७:२१

जनक शिक्षामा सेना पस्यो !