बार्सिलोनामा मेस्सीलाई मिस गर्दै बुस्केट्स, भन्छन्-“मेस्सी फिर्ता आए कप्तान आर्मब्यान्ड सुम्पिन्छु”

बार्सिलोनामा अझै पनि लियोनल मेस्सीको कमी खालिरहेको छ र क्लब कप्तान सर्जियो बुस्केट्सले अर्जेन्टिनी स्टारलाई क्याम्प नोउमा खुल्ला हातले स्वागत गर्ने र तुरुन्तै कप्तानको आर्मब्यान्ड सुम्पिन पनि आफू तयार रहेको बताएका छन्।

गत समरमा मेस्सीले क्लबमा रहन अक्दो प्रयास गरेपनि बार्सिलोनाको आर्थिक सङ्कट र लिगको पारिश्रमिक व्यवस्थाका कारणले ३४ वर्षीय सुपरस्टार खेलाडी क्लब छाड्न बाध्य भएका थिए। जसपछि उनी नि:शुल्क ट्रान्सफरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए, जहाँ उनका लागि यस सिजन निकै खराब गइरहेको छ।

“पक्कै पनि म उनलाई मिस गर्छु। मैदान भित्र र बाहिर,” बुस्केट्सले RAC1 लाई भने, “उनले हामीलाई के दिएका छन् … उनले क्लबका लागि के गरे, अरू कसैले गरेका छैनन्। उनले बार्सिलोनामा ठूलो फरक ल्याएका छन्। यति धेरै वर्ष पछि, उनलाई याद गर्नु सामान्य हो। म पक्का छु कि उनले पनि मलाई मिस गर्नेछन्। सुरुमा गाह्रो भयो। यो हाम्रा लागि पनि झट्का थियो। हामी अझै यहाँ छौं, तर उनका लागि यो कल्पना गर्नुहोस्। सहर बदल्नु, टोली बदल्नु, खेलशैली बदल्नु…”

“जब जित्न सकिँदैन, तब कोही पनि खुसी हुँदैन। म उनलाई शुभकामना दिन्छु। म लियो फर्केको हेर्न चाहन्छु, तर मलाई थाहा छ यो धेरै गाह्रो छ। उनी क्लबको सम्झौतामा छन्।,” उनले थपे, “यदि जाभी [हर्नान्डेज] ले उनका लागि ढोका खुला छ भनेका छन् भने, मलाई उनको साथी र सहकर्मीको रूपमा कल्पना गर्नुहोस्। म उनलाई आर्मब्यान्ड दिनेछु। उनीक लागि सधैं मेरो प्रशंसा र सम्मान छ।”

प्रकाशित : बिहिबार, चैत १७, २०७८११:३१

मेस्सी-रोनाल्डो दुबैले खेल्ने भए विश्वकप, अन्य कुन-कुन देश छनोट भए त ?