काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आउने एक दशकभित्र नेपाललाई एसियाकै उत्कृष्ट देश बनाउने दावी गरेका छन्।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्य सहित काम गर्ने दावी गरेका हुन्। कार्कीले नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले सबैले साथ र सहयोग गर्नुपर्ने बताए। समृद्ध मुलुक बन्ने आकांक्षामा एकजुट भई एउटै संकल्पका साथ अगाडी बढ्नुपर्ने कार्कीको भनाई छ।
त्यसक्रममा कार्कीले तीनै तहको चुनाव महासंग्राम नभई महाउत्सव हुने समेत बताउन छुटाएनन्। चुनावले देशलाई समृद्धी र स्थायित्वको दिशामा लाने भएकाले महाउत्सवको रुपमा लिइनुपर्ने बताए।
चुनावलाई स्वतन्त्र र भयरहित बनाउन सरकार गम्भीर भएको उनको भनाई छ। उनले भने,”चुनाव महासंग्राम होइन महाउत्सवका रुपमा सम्पन्न गर्नेछौं।”