काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धर नेपाल कम्युनिष्ट पार्टी, एमाले प्रवेश गरेको धेरै समय भएको छैन। मानन्धर एमाले प्रवेश गरेको एक साता भन्दा बढी मात्रै भएको छ।
पहिला पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई निकट रहेकी मानन्धर एमाले प्रवेश गरेदेखि नै चर्चामा छिन्। एमाले प्रवेश गरेपछि सोमबार मात्रै उनी एमालेले आयोजना गरेको एक कार्यक्रममा सहभागी भइन्।
चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा उनले बोल्ने मौका पाएकी थिइन्। त्यसक्रममा उनले आफ्नो न्वानरको नाम सूर्जेकुमारी भएको खुलासा गरिन्। उनले भनेकी थिइन्,”बाइदवए म एउटा कुरा रिभ्युज गरिदिहालौँ कि जस्तो लाग्यो मेरो न्वारनको नाम चाहिँ सूर्जेकुमारी हो। सूर्यले सोलार सिस्टमलाई धानेको जस्तै अब सूर्यले नेपाललाई पनि धान्छ।”
मानन्धरको सो भाषण सामाजिक संजालमा भाइरल नै भयो। त्यसक्रममा केहिले मानन्धरको छातीमा खोपिएको ट्याटुलाई सूर्यसँग जोडेर पनि उनको ट्रोल बनाए। सामाजिक संजालमा ट्रोल बनाइएपछि मानन्धरले सामाजिक संजाल मार्फत नै जवाफ फर्काएकी छन्।
सामाजिक संजालमा भइरहेका टिका-टिप्पणीहरुले आफूलाई कुनै असर नपर्ने मानन्धरको संकेत छ। उनले लेखेकी छन्,”सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो ।”