म्यादी प्रहरीमा लगाइदिन्छु भन्दै ठगेपछि …

राजविराज – म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । म्यादी प्रहरीमा लगाइदिने भन्दै विभिन्न व्यक्तिहरुलाई ठगेको आरोपमा एक व्यक्तिलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महादेवा गाउँपालिका–२ का रामदत्त मण्डलको २३ वर्षीय छोरा अरबिन्दकुमार मण्डल रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

स्थानीय तह निर्वाचन–२०७९ का लागि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारेर रकम लिने गरेको उजुरी आएपछि मण्डललाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको रु ६३ लाखसहित तीन युवक पक्राउ

विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार रु ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार रु ८ लाखसहित थप एक युवक पक्राउ परे ।

जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको रु ५५ लाखसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए ।ज ९प ८२४७ नं को मोटरसाइकलमा बसेर कालो झोलामा रु ५५ लाख बोकी गइरहको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए । रकमको स्रोत खुलाउन नमानेपछि उनीहरुलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको थियो ।

त्यसैगरी भारतबाट स्रोत नखुलेको करिब रु आठ लाखसहित नेपाल प्रवेश गरेका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई गएराति प्रहरीले पक्राउ गरेको थियो ।

भारत बिहारको कन्हमा सहरबाट कम्मरमा बेरेको कपडा भित्र रकम राखी साइकलमा सम्सी गाउँपालिका–स्थित प्रहरीचौकी नजिक आउँदै गरेका उनीमाथि शङ्का लागि जाँच गर्दा प्रहरीले स्रोत नखुलेको रु सात लाख ९१ हजार बरामद गरेको थियो ।पक्राउ परेका दासलाई गएराति नै मुख्य भन्सार कार्यालय जलेश्वरमा लगिएकामा कार्यालय बन्द भएकाले आज बुझाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

प्रकाशित : बिहिबार, चैत १७, २०७८१४:४४

अब तीन दिन चट्याङसहित पानी पर्ने !