एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुने विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप को अन्तिम ड्र आज राति हुँदैछ। आयोजक देश कतारको दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्रमा एक कार्यक्रममा बीच कतार विश्वकप २०२२ को अन्तिम ड्र आज राति हुन लागेको हो।
आज हुने ड्रले विश्वकपमा सहभागी हुने देशहरुलाई विभिन्न आठ समूहमा विभाजन गर्नेछ। विश्वकपमा सहभागी हुने २९ टोलीको टुंगो लागिसकेको छ भने बाँकी तीन देशको टुंगो आउने जुनमा लाग्नेछ। सबै ३२ देशहरुलाई छुट्टा-छुट्टै समूहमा विभाजन गरेर अन्तिम ड्र गरिनेछ।
ड्र कतारमा एक विशेष समारोहका बीच नेपाली समय अनुसार रातको ९ बजेर ४५ मिनेटमा शुरु हुनेछ। ड्र फिफाको अफिसियल वेबसाइटका साथै फिफाका सामाजिक संजाल पेजहरुमा हेर्न सकिनेछ।
कसरी गरिनेछ ड्र ?
ड्रको लागि फिफाले ३२ देशलाई विभिन्न चार पटमा विभाजन गरेको छ। सो विभाजन फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार गरिएको हो। पहिलो पटमा फिफा वरीयताका शिर्ष ८ मध्येका ७ देश र आयोजक कतारलाई राखिएको छ। शिर्ष ८ मध्येको इटाली विश्वकप छनौटबाट बाहिरिसकेको छ।
पहिलो पटमा कतार, ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इंग्ल्याण्ड, स्पेन र पोर्चुगल रहेका छन्। त्यस्तै दोस्रो पटमा फिफा वरीयताको नवौं स्थान देखि १६ औं स्थानमा रहेका आठ टोली छन्। दोस्रो पटमा रहेका देशहरुमा मेक्सिको, नेदरल्याण्ड, डेनमार्क, जर्मनी, उरुग्वे, स्विजरल्याण्ड, अमेरिका र क्रोएसिया छन्।
तेसो पटमा सेनेगल, जापान, सर्बिया, दक्षिण कोरिया, इरान, मोरोक्को, पोल्याण्ड र ट्युनिसिया रहेका छन्। चौंथो पटमा भने अन्तरमहादेशीय प्ले–अफका विजेताहरु र यूईएफए प्ले–अफको विजेताहरुलाई राखिएको छ।
त्यस समूहमा क्यामरुन, इक्वेडर, घाना, क्यानाडा, साउदी अरेबिया, युरोपियन प्ले अफको विजेता र दुई अन्तरमहादेशीय प्ले–अफका विजेताहरु रहनेछन्। युरोपियन प्ले अफको सेमिफाइनलमा युक्रेन र स्कटल्याण्डले खेल्न बाँकी छ। सो खेलको विजेताले वेल्सको सामना गर्नेछ। सो विजेता पट चारमा रहनेछ।
त्यस्तै अन्तरमहादेशीय प्ले अफमा कोस्टा रिका र न्यूजिल्याण्ड बीचको विजेता पनि चौंथो पटमा रहनेछ। अर्को अन्तरमहादेशीय प्ले अफको सेमिफाइनलमा युएइ र अस्ट्रेलिया बीच हुनेछ। सो खेलको विजेताले अन्तरमहादेशीय प्ले अफको फाइनलमा पेरुको सामना गर्नेछ। विजेता चौंथो पटमा रहनेछ।

