पाइलामा पाइला मिलाउँदै लिभरपुल र सिटी, निकै रोमान्चक बन्दै उपाधि होड !

एजेन्सी – शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ। शीर्षस्थानको सिटीले बर्नलेलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो।

टर्फ मुरमा शनिबार राति भएको खेलमा सिटीको जितमा केभिन डि ब्रुएन र इल्केए गुन्डोगानले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो।

खेलको पाँचौ मिनेटमा केभिन डि ब्रुएनको गोलबाट सिटीले सुरुवाती अग्रता लिएको थियो। उनले रहिम स्टर्लिङको पासमा गोल गर्न सफल भएका थिए। २५औं मिनेटमा रहिमकै पासमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीको अगैता दोब्बर पारे। त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो।

यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३० खेलबाट ७३ अंक पुगेको छ। पराजित बर्नले २८ खेलबाट २१ अंक जोडेर १९औं स्थानम रहेको छ।

लिगकै अर्काे खेलमा उपाधि दौडमा रहेको लिभरपुलले वाट्फोर्डलाई २–० ले पराजित गरेको छ। घरेलु मैदानमा लिभरपुलको जितमा डिएगो जोटा र फाविन्होले गोल गरे।

एनफिल्डमा शनिबार राति भएको खेलको २२औं मिनेटमा जोटाको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लियो। उनले जोसेप गोमेजको पासमा गोल गरेका थिए।

८९औं मिनेटमा फाविन्होले पेनाल्टीमा गोल गर्दै लिभरपुलको जित पक्का गरे। जोटामाथि कुकाले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लिभरपुललाई पेनाल्टी प्रदान गरेको थियो। जसमा फाविन्हो चुकेनन्।

यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मै कायम राख्न सफल भएको छ। लिभरपुलको ३० खेलबाट ७२ तथा शीर्षस्थानको सिटीको ७३ अंक छ। पराजित वाट्फोर्ड २२ अंक जोडेर १८औं स्थानमा रहेको छ।

प्रकाशित : आइतबार, चैत २०, २०७८११:१७

नेपाल र भारतबीच ऊर्जामा उपलब्धि, बङ्गलादेश बेच्न बाटो खुल्यो !