एजेन्सी – गएको केहि समय देखि बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले क्लब छाड्ने चर्चा चलिरहेको छ। उनलाई बायर्नले आउने ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्ने बताइन्छ। लेवान्डोस्कीले बायर्न छाड्न सक्ने सम्भावना देखिएका बेला उनको गन्तव्य कता होला भन्ने कुरा उठ्नु सामान्य हो।
लेवान्डोस्की बायर्न छाडेको अवस्थामा क्याटलान क्लब जान सक्ने स्पेनिस मिडियाहरु बताउँछन्। लेवान्डोस्की आफैं बार्सिलोना जान इच्छुक रहेको स्पेनिस मिडियाहरुको दावी छ। तर बार्सिलोनामा युवा खेलाडीहरुले पछिल्लो समय जुन स्तरको खेल प्रदर्शन गरिरहेका छन्, त्यसले बार्सिलोनामा लेवान्डोस्कीको आवश्यकतालाई धेरै कम गराइदिएको छ।
लेवान्डोस्की बार्सिलोना भन्दा पनि अन्यत्र जाँदा राम्रो हुने फुटबलका जानकारीहरु बताउँछन्। लेवान्डोस्कीको बार्सिलोना भन्दा कहाँ बढी आवश्यकता छ ?
म्यानचेस्टर सिटी
प्रिमियर लिगमा लगातार राम्रो प्रदर्शन गरिरहेको म्यानचेस्टर सिटीले गत वर्ष सर्जियो अगुएरोलाई गुमायो। त्यसयता उसले अगुएरोको स्थान लिन सक्ने खेलाडी भेट्टाएको छैन। सिटीले गत वर्ष अगुएरोले छाड्ने बितिक्कै ह्यारी केनलाई भित्र्याउन चाहेको थियो। तर सो प्रयास सफल हुन सकेको थिएन। पूरा टीम राम्रो भएपनि सिटीलाई एक अब्बल स्ट्राइकर चाहिएको छ। यस्तोमा लेवान्डोस्कीका लागि सिटी सबै भन्दा राम्रो विकल्प हुन सक्छ।
म्यानचेस्टर युनाइटेड
म्यानचेस्टर सिटीलाई जस्तै युनाइटेडलाई पनि स्ट्राइकरको खाँचो छ। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो बाहेक युनाइटेडसँग भरपर्दो स्ट्राइकर छैन। युवा स्ट्राइकर मार्कस रासफोर्ड राम्रो फर्ममा छैनन् र अन्य खेलाडीमा पनि युनाइटेड भरपर्न सकिरहेको छैन। जसकारण युनाइटेडमा लेवान्डोस्की झनै महत्वपूर्ण सावित हुन सक्छन्।
चेल्सी
युरोपियन च्याम्पियन चेल्सी जारी सिजनमा गोलमा चुकिरहेको छ। यसै सिजन इन्टर मिलानबाट झन्डै १ सय मिलियन खर्च गरेर ल्याइएका रोमेलु लुकाकुले अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न नसक्दा चेल्सी समस्यामा परेको छ। यस्तोमा चेल्सीलाई लेवान्डोस्कीको आवश्यकता बार्सिलोना भन्दा बढी छ।