एजेन्सी – च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन(पिएसजी) विरुद्ध ह्याट्रिक गरेका करिम बेन्जेमाले एकपटक पुनः कमाल गरेका छन्। पिएसजी विरुद्ध १७ मिनेट भित्र ह्याट्रिक गरेका बेन्जेमाले बुधबार राति चेल्सी विरुद्ध पनि ह्याट्रिक गरेका हुन्। बेन्जेमाले चेल्सी विरुद्ध पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै ह्याट्रिक पूरा गरे।
बेन्जेमाले खेलको २१औं मिनेटमा गोलको खाता खोलेका थिए। उनले भिनिसियस जुनियरको पासमा हेडरमार्फत गोल गर्न सफल भए। त्यसको केहि मिनेट नबित्दै बेन्जेमाले रियलको अग्रता दोब्बर पारे। खेलको २४ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरेका थिए। बेन्जेमाले लुका मोड्रिचको पासमा हेडरमार्फत नै व्यक्तिगत दोस्रो गोल गरेका हुन्।
त्यस्तै बेन्जेमाले दोस्रो हाफको शुरुवातमै तेस्रो गोल गरे। खेलको ४६ औं मिनेटमा गोल गर्दै बेन्जेमाले ह्याट्रिक पूरा गरेका थिए। च्याम्पियन्स लिगको जारी सिजनमा बेन्जेमाको यो लगातार दोस्रो ह्याट्रिक हो।
जारी सिजनमा बेन्जेमा करियरकै उच्च लयमा देखिएका छन्। बेन्जेमाले च्याम्पियन्स लिगमा ८ खेल खेल्दा ११ गोल गरिसकेका छन् भने १ असिस्ट दिसकेका छन्। बेन्जेमाको उच्च प्रदर्शनकै कारण रियल सेमिफाइनल नजिक पुगेको छ।