एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेलले चेल्सीका लागि च्याम्पियन्स लिग सकिएको संकेत गरेका छन्। च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडसँग हारेसँगै टुचेलले चेल्सीका लागि च्याम्पियन्स लिग सकिएको संकेत गरेका हुन्।
बुधबार राति चेल्सी चेल्सी घरेलु मैदानमै रियल म्याड्रिडसँग पराजित भयो। पहिलो हाफमा धेरै खराब प्रदर्शन गरेको चेल्सीले दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेपनि हार टार्न सकेन। रियलका कप्तान करिम बेन्जेमाले चेल्सी विरुद्ध ह्याट्रिक नै पूरा गरे।
घरेलु मैदानमै ३-१ को हार बेहोरेपछि प्रशिक्षक टुचेलले पुनरागमनको कम सम्भावना रहेको बताए। रियलसँग बेहोरेको हार चेल्सीलाई धेरै महँगो पर्ने टुचेलको भनाई छ। पहिलो हाफमा चेल्सीले अहिले सम्मकै खराब प्रदर्शन गरेको टुचेलले उल्लेख गरे।
“यो ठूलो हार हो। स्ट्यामफोर्ड ब्रिजमा मैले यति खराब प्रदर्शन यस अगाडी देखेको थिइन। व्यक्तिगत रूपमा र एक टोलीको रूपमा यो पर्याप्त थिएन। यस्तो होस् भन्ने हामीले छाएका थिएनौं। यो हाम्रो स्तर भन्दा धेरै खराब रह्यो।”,टुचेलले भने।
रियल विरुद्धको जस्तै प्रदर्शन गरे साउथह्याम्प्टन विरुद्ध पनि हारिने टुचेलको डर छ। दोस्रो लेगमा रियलको सामना गर्नु अगाडी चेल्सीले प्रिमियर लिगमा साउथह्याम्प्टनको सामना गर्दैछ। खेलमा सुधार गर्न नसके सो खेलमा पनि चेल्सी पराजित हुन सक्ने टुचेलले बताए।
उनले भने,”म्याड्रिड जानु अगाडि हामी साउथह्याम्प्टन जानुपर्नेछ। साउथह्याम्प्टन विरुद्धको खेल हाम्रो लागि धेरै महत्वपूर्ण हुनेछ। तर यस्तै ताल रहे हामीले सो खेल पनि हार्नेछौँ।”
टुचेलले रियल म्याड्रिडको घरेलु मैदानमा चेल्सीलाई धेरै गार्हो पर्ने बताउन पनि छुटाएनन्। उनले रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा चेल्सीको ठूलो चुटाई हुन सकने बताए। उनले भने,”यस्तै खेल्ने हो भने बर्नाबेउमा हाम्रो चुटाई हुनेछ।”

