एजेन्सी – क्याटलान क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको जर्मन क्लब फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी खेलेको हो ।
फ्रान्कफुर्टमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली फ्रान्कफुर्टका लागि अन्सगर नाफले गोल गर्दा बार्सिलोनाका फेरान टोरेसले बराबरी गोल फर्काए ।
४८औं मिनेटमा अन्सगर नाफको गोलबाट बार्सिलोना खेलमा पछि परेको थियो । कर्नरबाट आएको बललाई उनले हाफ भलीमार्फत गरेको प्रहारले पोस्टको दिशा लिदा बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।
एक गोलले पछि परेको बार्सिलोनाले ६६औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । फेरान टोरेसले फ्रान्की डि जोङको पासमा गोल गर्न सफल भएका थिए ।
७८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुगेपनि बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन । पेड्रीमाथि फउल गरेपछि टुटा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यो बराबरीसँगै दुवै टोलीले सेमिफाइनल पुग्ने समिकरण रहँदा बार्सिलोनालाई अवे गोलको फाइदा हुन सक्नेछ । दोस्रो लेगमा यही नतिजा कायम रहे बार्सिलोना अवे गोलको आधारमा अघि बढ्नेछ ।
दोस्रो लेग १४ अप्रिलमा बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा हुनेछ । फ्रान्कफुर्टलाई अघि चरण प्रवेश गर्न जित आवश्यकता पर्नेछ ।

